शनिबार, आश्विन १७ गते २०८३

युरोपका लागि वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण संस्थागत गरिँदै


कार्तिक २६, २०८१ सोमबार
युरोपका लागि वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण संस्थागत गरिँदै

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप रोजगारीको मागपत्र प्रमाणीकरण वैदेशिक रोजगार विभागबाट गराउन सकिने गरी तयारी थालेको छ । कार्यविधि ल्याएर युरोपेली मुलुकमा संस्थागत तवरले वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत श्रमिक पठाउन सकिने गरी तयारी थालेको हो । 

वैदेशिक रोजगार व्यवसायी सङ्घले युरोपमा नेपाली धेरै भएकाले माग प्रमाणीकरण विभागबाट गर्नुपर्ने माग राख्दै आएको थियो । हाल युरोपमा व्यक्तिगत भिसामा ठुलो धनराशि खर्चेर नेपाली युवा युरोप जाने गरेका छन् । व्यक्तिगत भिसामा जाँदा धेरै नेपाली ठगीमा पर्ने गरेकाले यसको नियन्त्रणका गर्न संस्थागत रूपमा युरोप श्रमिक पठाउनका लागि माग प्रमाणीकरण विभागबाट गर्नुपर्ने माग गर्दै आएका थिए ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले युरोपका धेरै देशमा नेपाली श्रमिकको माग रहेको तर नेपाली दूतावास नहुँदा माग प्रमाणीकरणमा समस्या भएकाले दूतावास नभएका देशको माग प्रमाणीकरण विभागबाट गर्ने व्यवस्था भएमा धेरै नेपालीले युरोपमा अवसर प्राप्त गर्ने बताए । 

उनका अनुसार युरोपका रोमानिया, पोर्चुगल, क्रोएसिया, इटाली, पोल्यान्ड, डेनमार्कलगायतका देशमा नेपाली श्रमिकको राम्रो माग रहेको छ । संस्थागत मागपत्र प्रमाणीकरण सहज भए व्यक्तिगत रूपमा युरोप रोजगारीका नाममा भइरहेको हालको ठगीमा धेरै कम हुने दाबी सङ्घका अध्यक्ष भण्डारीको छ ।  

विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले मागपत्र प्रमाणीकरणको काम विभागले गरे आकर्षक गन्तव्य युरोपेली देशमा धेरै रोजगारीका अवसर सुनिश्चित गर्न सकिने व्यवसायीको आग्रहपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको जनाए । श्रम मन्त्रालयले भने यस विषयमा परराष्ट्र मन्त्रालयमा राय माग गरेको जनाएको छ । यस पटक परराष्ट्र मन्त्रालय यस विषयमा सकारात्मक रहेकाले सकारात्मक प्रतिक्रिया आउनेमा मन्त्रालय विश्वस्त रहेको छ ।