शनिबार, आश्विन १७ गते २०८३

सरकारले यी पाँच आयोजना प्राथमिकताकासाथ अघि बढाउने


कार्तिक २२, २०८१ बिहीबार
सरकारले यी पाँच आयोजना प्राथमिकताकासाथ अघि बढाउने

सरकारले विभिन्न पाँच वटा आयोजनाको तयारी द्रूत गतिमा अगाडि बढाउने भएको छ । अर्थ मन्त्रालयमा बुधबार बसेको बैठकले पूर्वपश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्वतयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । 

यस्तै तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशीलताका लागि डिजिटल सेवा रूपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि द्रूत गतिमा तयारी गर्ने निर्णय उक्त बैठकले गरेको छ । विश्व बैङ्कको सहयोगमा नेपालमा सञ्चालन हुने यी आयोजनामा करिब ७२ अर्ब रुपियाँ लगानी हुने भएको छ ।

विश्व बैङ्कको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्वतयारी गर्ने छन् भने आवश्यकता अनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्ने छ ।

बैठकले सन् २०२५ को फेब्रुअरीसम्म आयोजनासँग सम्बन्धित सबै विषयको टुङ्गो लगाई पूर्वतयारीका काम सक्ने निर्णय गरेको छ । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैङ्कको बोर्ड बैठकमा ती आयोजनाका प्रस्ताव पेस गरिने योजना छ ।  

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाको पूर्वतयारीमा विशेष ध्यान दिन र आयोजना स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न बैठकमा निर्देशन दिए । नेपालले आफ्नो आवश्यकता अनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने उनले जनाए ।