"नेटो (NATO) का कतिपय मुलुकले नियमअनुसार आफ्नो कुल गार्हस्थ उत्पादन (GDP) को २ प्रतिशत सुरक्षा बजेट छुट्याएका छैनन् भने नेटोको सुरक्षाको लागि अमेरिकाले खर्चको बोझ बोक्न सक्दैन । राष्ट्रपति निर्वाचित भएको २४ घन्टा भित्रै रुस युक्रेन युद्धको अन्त्य गर्नेछु..... इज्रायलले इरानका अन्यत्र होइन, उसका सबै आणविक केन्द्रहरूमाथि हमला र वमवर्षा गर्नुपर्छ...."
: डोनाल्ड ट्रम्प
४७ औँ अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड जोहन ट्रम्प (१९४६–) २०२४ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी प्रत्याशी कमला ह्यारिस लाई २२४ इलेक्टोरल मतका विरुद्ध २७६ मतले हराएर अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने सम्भावनालाई पनि परास्त गरे । यस्तो सम्भावनालाई हटाउनमा, स्त्रीद्वेषी (mesioginist) को दोष लागेका ट्रम्पले डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टन र आफ्नै पार्टीकी च्यालेन्जर निकी हेलीलाई परास्त गरेका थिए ।
३४ मध्ये २७ वटा अदालती फौजदारी अभियोग (Felony) को सामना गर्नुपरेेका ट्रम्प निर्वाचित भएपछि विश्वभरिबाट खुशी र खिन्नताका प्रतिक्रिया आएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन खुशी भएपनि बधाई दिएका छैनन् । काम हेरेरमात्र प्रतिक्रिया व्यक्त गर्ने भन्दैछन् । भारतका नरेन्द्र मोदी, इज्राएलका बेन्जामिन नेतान्याहु, साउदी अरबका राजा, बेलायती प्रधानमन्त्री खुशी देखिए । युक्रेनका भोलोदिमिर जेलेन्स्की, ईरानका राष्ट्रपति, अफगानिस्तानको तालिबान शासक खिन्न छन् । चीनले न खुशी न त खिन्नता देखायो ।
ट्रम्पले आफ्नो पहिलो राष्ट्रपति को सपथग्रहण गरेको एक हप्ताभित्रै (२५ जनबरी २०१७) मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने विधिवत निर्णय गरेका थिए। आफ्नो चुनाब अभियानमा उनले यो घोषणा गरेका थिए। यसपालिको निर्वाचनमा पनि यो मूख्य एजेन्डा थियोे।
रिपब्लिकन पार्टीकै राष्ट्रपति उम्मेदवार निकी हेली (१९७२- ) ले निर्वाचन परिणामलाई लिएर ६ जनवरी २०२१ का दिन अमेरिकी प्रतिनिधिसभा (Capitol) भवनमा ट्रम्प समर्थक एउटा उद्दन्ड भीडले मच्चाएको बितण्डा लाई लिएर ट्रम्पले त आफू र तत्कालिन स्पिकर नेन्सी पेलोसीलाई पारेको भ्रम सम्झिंदा ट्रम्पको मानसिक योग्यताको जाँच गर्नुपर्छ समेत भनेकी थिन् ।
अमेरिका–मेक्सिको सीमाना ३२ सय कि.मि. लामो छ। हालसम्म ११२५ कि.मि. सीमानामा सिमेन्ट पर्खाल, फलामे रेलिङ्, काठको बार बन्देज र काँडे छेकबार लगाइएको छ । राष्ट्रपति ट्रम्प बाँकी २ हजार ७५ कि.मि. सीमानामा कंक्रिट पर्खाल लगाउन चाहन्छन् । यसका लागि उनले धेरै व्यवधानको सामना गर्नुपरेको थियो। बजेट निकासा नहुँदा कयौँ केन्द्रीय सरकारी कार्यालयमा महिनौँ दिनसम्म ताला लाग्यो ।
४ वर्ष अगाडि २०२१ डिसेम्बर १८/पुस २ का दिन अमेरिकी प्रतिनिधिसभा (काँग्रेस) ले ६ घन्टाको छलफलपछि उक्रेन तथा अमेरिकी डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका सशक्त प्रत्याशी नेता जोन बाईडेनसम्बन्धी मामिलामा र प्रतिनिधिसभाको कार्यवाही अवरुद्ध गरेकोमा राष्ट्रपति डोनाल्ड ट्रम्प (१९४६– ) माथि “अमेरिकी राष्ट्रपतिलाई दिइएको अधिकार अधिनायक बन्नका लागि होइन” भन्दै २ वटा महाअभियोग प्रस्ताब पारित गरेको थियो ।
महाअभियोग लगाईएका ट्रम्प, १८६८ मा एन्ड्र्यु जोहन्सन (१८०८–७५) र बिल क्लिन्टन (१९४६– ) पछिका तेस्रो राष्ट्रपति हुन्। वाटरगेट काण्डमा राष्ट्रपति रिचार्ड निक्सन (१९१३–९४) लाई पनि (१९७२–७४ मा) महाअभियोग लाग्न आँटेको थियो तर उनले पदबाट राजिनामा दिए (हे. तलको फोटो, एएफपीको चित्रण) ।

वर्तमान विश्वमा कार्यकारी राष्ट्रपतिको ज्यादाती, सत्ताको अस्थिरता र खुँखार तानाशाहको उत्थानका घटनाहरू भरमार रुपमा भईरहेको बारे नेपालमा कार्यकारी राष्ट्रपतिको खोजी गर्नेहरूको दिमागमा चढ्नुपर्ने हो ।
अधिकांश ल्याटिन अमेरिकी मुलुक सैन्य हस्तक्षेपबाट ग्रसित छन् । ईक्वेडरमा २००० मा, भेनेजुएलामा २००२ मा, होन्डुरसमा २००९ मा, बोलिभियामा २०१९ मा निर्वाचित सरकारलाई अपदस्थ गर्न सेना अग्रसर भयो । बोलिभियामा त १९२० देखि १९८० सम्ममा १३ पटक सैनिक कू भएको देखिन्छ । यस अतिरिक्त फिलिपिन्स, दक्षिण अफ्रिका, द. कोरिया वा ब्राजिलसम्मै हेरौँ हेरौँ कार्यकारी राष्ट्रपति निर्वाचित तानाशाह बनेको घटनाक्रम देखिन्छ ।
ट्रम्प निर्वाचित भएपनि आगामी जनबरी सम्म जो बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपतिमा बहाल र क्रियाशील रहनेछन् । त्यसपछि मात्र ट्रम्पको नयाँ कार्यकाल सुरू हुनेछ ।
चन्द्रमणि गाैतम