शनिबार, आश्विन १७ गते २०८३

नेपालको अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको अर्थविद् डा.अधिकारीको टिप्पणी

कार्तिक २०, २०८१ मंगलबार
नेपालको अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको अर्थविद् डा.अधिकारीको टिप्पणी

अर्थविद् डा.चन्द्रमणि अधिकारीले अहिले नेपालको अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तरक्रिया मा बोल्दै   बोल्दै उनले नेपाल राष्ट्र बैंकको तथ्याङ्क र सरकारमा रहेका दलहरुका नेताहरुको कुरा सुन्दा अर्थतन्त्र सुध्रिएको जस्तो देखिए पनि त्यसको प्रभाव जनताको जनजीवनमा नदेखिएको बताए । 

अधिकारीले भने, ‘अहिले हाम्रो अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको छ । सरकारका मान्छेहरुले र नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्यो भने अर्थतन्त्र गजब रहेछ भन्ने देखिन्छ । तर, आम नागरिक, अम जनतालाई दैनिकीमा गएर सोध्ने हो भने अर्थतन्त्र सुध्रिएको छैन । हिजो जति पैसाले बस्तु र सेवा प्राप्त भइरहेको थियो, त्यो प्राप्त भइरहेको छैन ।’ गत सालको तु्लनामा खाद्यान्नको बजार मूल्य दोब्बर भएको समेत उनले बताए । खाद्यान्नको सन्दर्भमा बजार मूल्य २० प्रतिशत बढ्नु सामान्य जस्तै भएको अधिकारीको टिप्पणी छ । हाम्रो जस्तो अर्थतन्त्रमा कूल ग्राह्यस्थ उत्पादनमा ऋणको अंश ३५ प्रतिशत भन्दा धान्न सक्ने क्षमता नरहे पनि अहिले ४४ प्रतिशत पुगिसकेको उनले बताए । 

अधिकारीले नेपालको अर्थतन्त्रको मुटु, कलेजो कमजोर भइसकेको बताउँदै हात, पाखुरा चाहिँ बलियो भइरहेको तर्क गरे । सरकारले अर्थतन्त्रको महत्वपूर्ण पक्षहरु कमजोर भइरहेको कुरा स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए । अधिकारीले भने, ‘हाम्रो अर्थतन्त्र द्वन्द्वात्मक अवस्थामा छ । मुटु, कलेजो कमजोर हुँदै गएको छ, हात पाखुरा अलिकति बलियो देखिएको छ । अर्थतन्त्र राम्रो छ, गजबको छ भन्न हुँदैन ।’