बुधबार, भाद्र ३ गते २०८३

.....जमाना अनौठो नयाँ आज आयो.... -महाकबि लक्ष्मीप्रसाद देबकाेटा


कार्तिक १५, २०८१ बिहीबार
.....जमाना अनौठो नयाँ आज आयो....  -महाकबि लक्ष्मीप्रसाद देबकाेटा

जमिन्दारका पुत्र छन् साम्यवादी /छ कालो बजारी त झण्डा फिंजारी/ निजिगोटी चाला नबन्ने हरायो/ जमाना अनौठो नयाँ आज आयो.... - महाकवि लक्ष्मीप्रसाद देवकोटा

महाकवि लक्ष्मीप्रसाद देबकोटा (बि.सं.१९६६–२०१६) को यो कवितांश नेपाली राष्ट्रिय कांग्रेसको मुखपत्र 'युगवाणी' को वि.स. २००४ को अंकबाट लिईएको हो ।
महाकविजी २०१४ साउन ११ गते गठित मन्त्रिमण्डलमा शिक्षा तथा स्वायत्त शासन मन्त्री हुनुभएको थियो । त्यही समयमा त्रिभुवन विश्वविद्यालयको स्थापनाका लागि कीर्तिपुरको जग्गा उहाँले उचित ठहराउनु भएको थियो । अन्ततः त्यही भयो ।
महाकवि देवकोटा २००४ सालमा काठमाडौँबाट भारतको बाराणसी जानुभयो । यसबारे नेता किसुनजीको भनाई छ—
‘......काशी गएर देवकोटाजी बस्दा नेपाली राजनीति र काँग्रेसलाई ठूलो फाइदा होला भनेर त्यसबेला काठमाडौँमा काँग्रेसका नेता, केन्द्रीय कार्यसमितिका सदस्य र पछि गएर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक भएका श्री पुष्पलालले उहाँलाई त्यहाँ लगेका हुन् र हामी सबैको सल्लाहले त्यहाँ दूधविनायकस्थित श्री नरेन्द्र रेग्मीको राष्ट्रिय काँग्रेसको केन्द्रीय कार्यालयको घरमा राखेका हुन् ।......तर केही दिनपछि हामीलाई आफ्नो गल्ती थाहा हुनथाल्यो ।.......हामीले भ्याएसम्म जति गर्दा पनि उहाँलाई दुःख हुनथाल्यो । खानपिनको र बसउठको । त्यो देखेर मैले उहाँलाई आफ्नो घरमा ल्याएर राखेँ” (कृष्णप्रसाद भट्टराई, ‘मेरो म’ [आत्मकथा] २०६७, पृ. ७९–८१) ।
महाकविका सुपुत्र पद्म देवकोटा लेख्नुहुन्छ, “.....मेरा पिता बनारसमा कसैलाई खबर नगरीकन जानुभयो । उहाँ गएको छः महिना बित्दा नबित्दै दाजु कृष्णको मृत्यु भयो । एकातिर श्रीमान् हराउनु, अर्कातिर सरकारले घर सम्पत्ती खोस्नु अनि यसैताका छोराको निधन हुनु र काँग्रेसको घर भनेर लास उठाउन छिमेकी त के आफ्नै माइतीसम्म पनि आउन डराउनु– ती दिनका बेसहारा नारीले भगवानको सहारा खोज्नु स्वाभाविक थियो......” (कान्तिपुर दैनिक, पाठक मञ्च, मंसिर ५, २०६८) ।
आफ्नो अन्तिम इच्छाअनुसार नै शान्तभवन अस्पतालबाट २०१६ साल भाद्र २७ गते लगेर राखिएको पशुपतिनाथको हरिकीर्तन भवनमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले उहाँको अन्तिम इच्छा बुझ्न सरकारको तर्फबाट पठाउनु भएअनुसार निर्माण सञ्चार तथा नहर मन्त्री गणेशमान सिंह उहाँलाई भेटेर स्थिति बुझ्न महाकविजीसमक्ष जानुभएको थियो।
सर्वप्रथम ‘महाकवि’ उपाधिको उद्घोष गर्ने गणेशमानजी नै हुनुहुन्थ्यो । त्यो सबैलाई स्वीकार्य भयो । विधिवत रुपमा उहाँलाई महाकविको उपाधी दिइएको भने होइन। महाकविले गणेशमानजीसँग भन्नुभयो, “म माटोमा मिले पनि नयाँ नेपालको निर्माण होस्, प्रजातन्त्र फलोस् फुलोस् मर्न नपाओस्, असह्य वेदना भएकोले मलाई पाँच ग्रेन मर्फिन र तीन ग्रेन सुत्ने औषधी दिइयोस् । मैले तिर्नुपर्ने १०/१२ हजार (रूपैँया–ले.) को ऋण छ, मेरो घर बेचेर सो ऋण तिरियोस्.....।”
उहाँको अन्तिम इच्छाअनुरूप तत्कालीन सरकारले ऋण तिर्न रू २२ हजार, काजक्रिया गर्न रू. तीनहजार र दुई छोरा बालिग नहुन्जेल अध्ययन गर्न प्रतिब्यक्ति मासिक रू.एकसय दिने ब्यवस्था गरेको थियो (नेपालको राजनीतिक दर्पण, दोस्रो भाग, २०३६ संस्करण पृ.२५१–५२)।
आन्द्रामा भएको क्यान्सरका लागि महाकवि देवकोटा उपचारार्थ कलकत्ता गई फर्कनु भएपछि उहाँको आर्थिक स्थितिमा असर पार्ने नियतले उहाँ सदस्य रहनुभएको आजको नेपाल प्रज्ञा प्रतिष्ठान (तत्कालीन रोयल नेपाल एकेडेमी) भित्रैबाट विभिन्न षड्यन्त्र हुनथालेको थियो ।
----------------
सन्दर्भ : उहाँको जन्मतिथि तिहारको लक्ष्मीपूजा 

चन्द्रमणिजीबाट  महाकबि बारे महत्वपूर्ण थप जानकारी र जिज्ञाषा

महाकवि देवकोटाको बारेमा सानो तर महत्वपूर्ण जानकारी
"श्रीमान् देवकोटालाई यहाँ (राँची, भारतस्थित मानसिक रोग अस्पतालमा) भर्ना गर्नुभन्दा पहिले नै मैले उहाँको प्रतिभाशाली व्यक्तित्वको परिचय पाएको थिएँ । हाम्रो मेडिकल टिमले उहाँको डिटेल स्वास्थ्य-जाँच गर्यो । उहाँमा मानसिक समस्या केही पनि देखिएन, न त त्यसबारे कुनै लक्षण नै । निष्कर्षमा मैले यसो भनेकोमा क्षमा गर्नुहोला महाकवि देवकोटा पागल होईन, उहाँको जन्ममा बरू भौगोलिक गल्ती भएको लाग्छ । युरोपतिर यस्तो प्रतिभा जन्मेको भए सायद कुनै समस्या हुने थिएन....।"
-महाकविको स्वास्थ्य जाँच गरेका मनोचिकित्सक ले.क. (अ.प्रा) अवेन बर्कले हिल (फोटो) को भनाई : मानसिक अस्पताल, राँची, झारखण्ड (भारत) ।

Devkota thap jankari.jpg
नेपाली कांग्रेस काे सरकार काे बेला उहां काे मृत्यु भएकाे थियाे । कांग्रेस का तत्कालीन मन्त्रि गणेशमान सिंह ले सर्बप्रथम महाकबि भनेर बाेलाए काले पछि सबै ले महाकबि भन्ने थाले र प्रधान मन्त्री बी,पी, ले मन्त्री गणेशमान सिंह लाई पठाएर अन्तिम ईच्छा साेधे अनुसार, ऋण बांकी रहे काे२२ हजार,र क्रिया खर्च तथा दुई छाेरा काे बालिग न हुन्जेल सम्म प्रति महिना रु १००। का दरले सरकार बाट दिने निर्णय गरियाे त्याे त कांग्रेस सरकार काे महाकबि प्रति काे सदासयता काे परिणाम थियाे ।तर, २०१७ पाैष १गते राजा महेन्द्रबाट भएकाे प्रजातन्त्र काे हत्या पछि निरन्तरता रह्याे कि रहेन थाह पाए हुन्थ्याे कि?