गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले नेपालमा गैरआवासीय नेपालीले साधरण सेयर मार्फत (आइपीओ)बाटै लगानी गर्न सक्नेगरी १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन हुने अन्तिम अवस्थामा पुगेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्ले एनआरएन दिवस र वार्षिक साधारणसभाको अवसरमा आयोजना गरेको ‘नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण’ सत्रमा सम्बोधन गर्दै विदेशमा बस्ने नेपालीले वैैधानिक लगानी कसरी गर्न सकिन्छ भन्ने खोजीमा एनआरएनए फण्ड स्थापना भएको उल्लेख गरे ।
अध्यक्ष डा. केसीले नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गरेसँगै लगानी भित्र्याउ बाटो खुल्ने जनाए । ‘विदेशबाट नेपालीले लुकेरै लगानी गर्नुपर्ने अवस्था हुँदा फण्डको परिकल्पना गरिएको हो,’ अध्यक्ष केसीले भने,‘पछिल्लो ६ महिनामा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकको सहजिकरणमा केही दिनमै कार्यन्वयनमा आउने अवस्था छ ।’
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारको प्राथमिकता नीतिगत सुधार गरी गैरआवासीय नेपालीले लगानी भित्र्याउनको लागि विभिन्न ऐन संसोधन गरिएको बताए । उनले नेपालमा लगानीका प्राथमिकता बारम्बार स्पष्ट पारेको बताउँदै लगानीको ढोका खुल्ला रहेको उल्लेख गरे ‘नेपालमा जलविद्युत, सूचना प्रविधि, उत्पादन मुलक उद्योग लगायतका क्षेत्र अवसर रहेको छ,’ उनले भने, ‘अहिले सरकारले एनआरएनएलाई जति प्राथमिकता दिएको पछि नदिनसक्छ । अहिले नै आउनु पर्छ ।’
नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष महेश बरालले नेपालको पुँजी बजार गैरआवासीय लगानी भित्र्याउने तयारीमा रहेको जनाए । १० अर्बको फण्ड सञ्चालन मोडालिटी सफल हुँदा गैरआवासीय संघसंगै नेपाल सरकारकोलागि पाठ हुने उनले बताए । ‘१० अर्वको फण्ड २०२२ बाट तिब्रगतिमा अघि बढेको थियो,’ अध्यक्ष बरालले भने,‘सबै सरकारी निकायको सुझाव समेटेर निर्देशिका नेपाल राष्ट्र बैंकमा सहमतिको लागि पठाइएको छ ।’ नेपाल राष्ट्र बैंकले सहमति दिएको एक हप्ताभित्रै निर्देशिका जारी गर्न सक्ने बढाउँदै छठ लगत्तै कार्यन्वयनमा आउने बरालले जानकारी दिए । उनले ५ अर्ब संस्थापक लगानीकर्ताबाट उठाएर बाँकी ५ अर्ब गैरआवासीय सर्वसाधारण उठाउँदा सफलता हासिल हुने उल्लेख गरे ।
नेपालपत्र संवाददाता