गएको असोज १० पछिको बाढीपहिरो र डुबानका कारण क्षति पुगेको भन्दै हालसम्म बिमा कम्पनीमा ९ अर्ब ५४ करोड ६१ लख ८२ हजार ६३४ रुपियाँ बराबरको माग दाबी परेको छ। तर हालसम्म ३० करोड ३६ लाख ५४ हजार रूपैयामात्र दाबी भुक्तानी भएको देखिएको छ।
नियामक निकाय नेपाल बिमा प्राधिकरणका अनुसार कात्तिक ६ गतेसम्म निर्जीवन बिमा कम्पनीमा तीन हजार ३०६ बिमा दाबी सङ्ख्याबाट उक्त परिमाणमा दाबी परेको हो । कम्पनीमा दाबी परे अनुसार दाबी भुक्तानी सङ्ख्या २६१ रहेको छ । एक महिनाको अवधिमा ३० करोड ३६ लाख ५४ हजार ५६२ रुपियाँ बराबरको मात्रै दाबी भुक्तानी भएको छ ।
प्राधिकरणले छिटो र सरल रूपमा दाबी भुक्तानी गर्न निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिए पनि दाबी सङ्ख्याको आधारमा दाबी भुक्तानी रकम ज्यादै न्यून रहेको छ । प्राधिकरणका अनुसार दाबी पर्ने क्रम चलिरहेकाले दाबी सङ्ख्या र रकम अझै बढ्दो क्रममा रहेको छ ।
हालसम्म माग बिमा दाबी पर्नेमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा शिखर इन्सुरेन्स कम्पनी रहेको छ । शिखरमा ४२७ वटा बिमा दाबी परेका छन् भने अहिलेसम्म १५९ वटा दाबीको भुक्तानी भइसकेको छ । सो कम्पनीमा ९८ करोड ८१ लाख ४७ हजार ५४९ रुपियाँ बराबरको बिमा माग दाबी परेको छ । त्यसमध्ये अहिलेसम्म २१ करोड ५० लाख ४२ हजार ४४० रुपियाँ भुक्तानी भइसकेको छ ।
शिखरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३५५ वटा बिमा दाबी परेका छन् भने अहिलेसम्म १८ वटा मात्रै दाबीको भुक्तानी भएको छ । सो कम्पनीमा ६६ करोड ८१ लाख ४७ हजार ७११ रुपियाँ बराबरको बिमा माग दाबी परेको छ । त्यसमध्ये अहिलेसम्म एक करोड १९ लाख ५४ हजार ५७५ रुपियाँ भुक्तानी भएको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । सो कम्पनीमा ४८५ वटा दाबीबापतको दुई अर्ब छ करोड ५९ लाख ८४ हजार ५६९ रुपियाँ बराबरको भुक्तानी गर्नुपर्ने भएको छ तर अहिलेसम्म कम्पनीले ३३ वटा बिमा दाबीबापत चार करोड १७ लाख ८१ हजार रुपियाँ मात्रै भुक्तानी गरेको छ ।
प्राधिकरणका अनुसार बिमा लेखको प्रकार हेर्दा सम्पत्ति बिमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, मोटर बिमा (निजी), मोटर बिमा (सार्वजनिक), सामुद्रिक बिमा, कृषि बाली बिमा, पशुपन्छी बिमा र विविध रहेका छन् ।
प्राधिकरणका अनुसार बिमा दाबी परेमध्ये सबैभन्दा धेरै सम्पत्ति बिमा अन्तर्गत बिमा माग दाबी परेको छ । सम्पत्ति बिमामा एक हजार ६३५ वटा सङ्ख्यामा सात अर्ब ३१ करोड ६८ लाख ४५ हजार ७०९ रुपियाँ बराबरको माग दाबी परेको छ । सबैभन्दा धेरै भुक्तानी पनि सम्पत्ति बिमामा भएको छ । हालसम्म सम्पत्ति बिमामा १३५ वटा माग दाबीको २६ करोड ७२ लाख रुपियाँ बराबरको भुक्तानी भएको छ ।
सम्पत्तिपछि मोटर बिमा (निजी) मा ८३८ वटा सङ्ख्यामा २६ करोड ७७ लाख ३३ हजार ८३५ रुपियाँ बराबरको माग दाबी परेको छ । यसमा पनि धेरै भुक्तानी भएको छ । हालसम्म मोटर बिमा ९निजी० मा ८४ वटा माग दाबीको दुई करोड २९ लाख ६७ हजार ३०५ रुपियाँ बराबरको भुक्तानी भएको छ ।
नेपालपत्र संवाददाता