दान नगर् भनेर १० वटा हात्ती बराबरको तागतले छेकिरहेको हुन्छ, त्यो तागतलाई जित्नेहरुले मात्रै दान दिन सक्छन्; दानीलाई हानी चाहिँ कहिल्यै हुँदैन... मैयादेबी श्रेष्ठ![]()
नारायणगढको क्षेत्रपुरस्थित प्रसिद्ध समाजसेवी, दानकी देवी, नेपाली कांग्रेसका दिवंगत नेता मैयादेवी श्रेष्ठ (१९८५-२०७९) को घरलाई गहिरो शोकले ढाकेको छ।
विगत ८ वर्षदेखि पार्किन्सन्स रोगका कारण कहिले घरको विछ्यौनामा त कहिले भरतपुर अस्पतालको बेडमा उनी आराम गरिरहेकी हुन्थिन् । रोग लाग्नुअघि उनी समय–समयमा देवघाट र भारतको हरिद्वारमा पनि बसिन् ।
मैयादेवी श्रेष्ठले आफ्नो जीवन समाजसेवा र राजनीतिमा लगाइन् ।नारायणगढको लगभग ८ करोड मूल्य पर्ने घर–जग्गा आफ्नो नाममा स्थापित ट्रस्टलाई हस्तान्तरण गरेपछि भरतपुर (क्षेत्रपुर) को सामान्य घरमा बाँकी जीवन बिताइन् । रविभवन (काठमाडौं) स्थित नेपाल तरूण दलको केन्द्रीय कार्यालय, कांग्रेसको चितवन जिल्ला कार्यालय र चितवनमै प्रेस युनियनको भवनलाई १५ धुर जग्गा उनैले दिएकी हुन् । चितवनको सो जग्गा करोडौं मोल पर्छ । यस अतिरिक्त, कांग्रेस पार्टीका लागि उनले रू.६ करोड ५० लाख बराबरको जग्गादान गरेको देखिन्छ ।
उनले दीनदुःखीलाई गरेको दान-दातव्यको कुनै हिसाब छैन । मानव सेवा आश्रम, भरतपुर शाखाको भवन निर्माणका लागि बेलचोकको करिब २० करोड पर्ने जग्गा दान गरेको र सो आश्रमलाई उनका भदाहाहरु स्व. भगवानदास र प्रेमकुमार श्रेष्ठका परिवारले पनि आठ कठ्ठा जग्गा दान गरे । उनले करोडौं नगद राखेर अक्षय कोष स्थापना गरेकी छन्।
अविवाहित मैयादेवीका चार धर्मपुत्र छन् । उनले ती सबैलाई आवश्यक सम्पत्ती दिएकी छन् । उनले जीवनभरिमा ४५ जनाभन्दा बढीलाई जमीन दान दिएको धर्मपुत्र टंकनाथ पौडेल बताउँछन् । उनीसँग अब भरतपुर– ११ बसेनीमा करीव एक बिघा र देवघाटमा केही जमीन बाँकी छ ।
मैयादेवी श्रेष्ठले दुईवटा ट्रष्टका नाममा करोडौंका मूल्यका घरजग्गा र नारायणघाट बजारको तीन तले घर ट्रष्टका नाममा पास गरिदिएकी छन् । ट्रष्टले शिक्षा, स्वास्थ्य, महिला लगायतका क्षेत्रमा काम गर्दै आएको छ। देवघाटमा ०५४ सालमा स्थापित ओम शान्ति मैयादेवि ट्रष्ट सक्रिय छ भने मैयादेवी ट्रष्ट पनि क्रियाशील छ ।
विसं. १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मिएकी मैयादेवी, पिता वीरबहादुर श्रेष्ठ र आमा गणेशकुमारी श्रेष्ठकी दोस्रो सन्तान हुन् । त्यसबेला वीरगञ्जमा डिठ्ठा रहेका वीरबहादुर श्रेष्ठले १९८० सालतिरै चितवनको नारायगढमा थुप्रै जमिन जोडेका थिए । २०२१ सालको नारायणगढ तलको फोटोमा देखिएको अवस्थामा थियो भने १९८० सालमा त कस्तो पो थियो होला!
छोरीलाई मुम्बईमा राखेर आईए पढाएका मैयादेवीका आमा-बाले सम्पत्ती पनि दुई सन्तानलाई भाग लगाइदिएका थिए । मुम्बईमा रहँदै कांग्रेसको सम्पर्कमा आएकी मैयादेवीले आफ्नो भागमा परेका सारा सम्पती लोकहितमा लगाइन् । उनका दाजु कमलप्रसाद श्रेष्ठका छोराहरु पनि समाजसेवीका रुपमा सुपरिचित छन् ।
मैयादेवीले महिलाहरुको उच्च शिक्षाका लागि भरतपुरमा मैयादेवी कन्या कलेज स्थापना गरिन्, जहाँ अहिले ११ कक्षादेखि स्नातकोत्तर तहसम्म करिब आठसय छात्रा अध्ययनरत छन् । ०५७ सालमा १६ कठ्ठा जमिनमा बनेको कलेजमा व्यवस्थापन, मानविकी र नर्सिङ पढाइ हुन्छ । उनले नारायणगढ बजारको बालकुमारी कन्या स्कूललाई पनि १० कठ्ठा जग्गा दिएकी छन् ।

पहराको सतीसाल जस्तो कांग्रेसकी दृढप्रतीज्ञ नेता
२०४८ सालमा संसदको पहिलो अधिवेशनताका भाद्र २४ गते, संसदको विशेष क्यान्टिनमा चिया-खाजा फ्री थियो। थाहा भयो, बीपीको जन्मजयन्तीको अवसरमा त्यो सौजन्य गोरखाबाट निर्वाचित सांसद उनै मैयादेवी श्रेष्ठको रहेछ । उनी यस्ता कार्यमा पनि मन फुकाउँने गर्दथिन्।
मैयादेवीले २००३ सालमा वीपी कोइरालाबाट नेपाली (राष्ट्रिय) कांग्रेसको सदस्यता लिइन् । वीपीले उनका औंला ब्लेडले चिरेर रगतको ल्याप्चे लगाई सदस्यता दिएको मैयादेवी सम्झन्छिन् ।
२००७ सालको क्रान्तिमा बन्दीपुरमै सक्रिय भएकी उनी २०१४ को भद्र अवज्ञा आन्दोलनमा जेल परिन्। २०१७ सालमा राजा महेन्द्रले सत्ता पलट गरेपछि भारत निर्वासनमा गएकी उनले २०१८ देखि २०२० सालसम्म भारतको ऋषिकेशबाटै कांग्रेसको राजनीतिमा क्रियाशील भईन् ।
लामो समय महिला संघको चितवन जिल्ला अध्यक्ष रहेकी उनी ०४८ सालमा गोरखा क्षेत्र नं.२ बाट सांसद निर्वाचित भइन् । २०५६ सालमा राष्ट्रियसभामा मनोनित भइन् । ०६२/६३ को जनआन्दोलनपछि पुनस्थापित संसदमा पनि उनी सांसद थिइन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभामा महिला सांसद समूह (ककस) को अध्यक्ष रहँदा सम्पतिमा महिलालाई दाजुभाइसरह हक होस् भनेर सक्रिय भईन् ।
आईतबार ६ कात्तिक २०७९, राती १ बजे यी महान् समाजसेवी लोकतन्त्रवादीले संसारबाट बिदा लिईन् ।
हार्दिक श्रद्धाञ्जली । अल विदा मैया दिदी !
_____________
मैयादेवी अर्थात ‘दानकी देवी’ शीर्षकमा ०७९ साउन १ कोअनलाईन खबरपत्रिकामा सुवास पण्डितको आलेखको संपादित अंशका साथ आफ्नो नोट पनि मिसमास्
चन्द्रमणि गाैतम