औषधीको प्रयोजन रोगव्याध हटाएर जीवन लम्ब्याउनु हो; औषधीको खास मान्यता त चिकित्सकको आवश्यकता नै समाप्त पार्नु हाे: डा. विलियम जे.मायो
विलियम जेम्स् मायो (१८६१–१९३९) अमेरिकास्थित स्वास्थ्य क्षेत्रको विश्वचर्चित संस्था मायो क्लिनिक (स्था. १८६४) का संस्थापक फिजिसियन तथा सर्जन हुन् । उनका चिकित्सक भाई चार्ल्स् होरेस मायो (१८६५–१९३९) लगायत सातजना संस्थापक चिकित्सकहरूले गैरनाफामूलक आयुर्विज्ञान अनुसन्धान तथा साधना केन्द्र स्थापना गरे ।
यसले ७३०० चिकित्सक र वैज्ञानिकलाई नियुक्त गरेको देखिन्छ भने ६६ हजार त प्रशासनिक र स्वास्थ्य सहायक नियुक्त रहेछन् । १५ वटा उच्चस्तरीय अनुसन्धान स्कूल रहेछन् । वार्षिक अनुसन्धान बजेट ६ अर्ब २५ करोड डलर छ । तीन हजारभन्दा बढी चिकित्सा तथा औषधीविज्ञानका पूर्णकालीन अनुसन्धाता वैज्ञानिक रहेछन् ।
यसले चिकित्सा तथा औषधी विज्ञानका विषयमा प्रतिपादन गर्ने सिद्धान्त, परिभाषा, खोज, दिएका निर्णय र अन्य विवरण अमेरिका तथा संसारभरि नै विश्वसनीय र भरपर्दो मानिन्छ । विलियम जे.मायो यस्तो संस्थाका जन्मदाता हुन्, जसले स्वास्थ्य क्षेत्रमा अद्वितीय योगदान पुर्याउँदै आएको छ । स्वास्थ्यबारे चासो राख्ने हामी नेपालीले पनि मायो क्लिनिकले दिने स्वास्थ्य सल्लाह वा निष्कर्ष पहिल्याउनु पर्छ, त्यसैले मायो क्लिनिकको महत्व जानीराख्नु वेश हुन्छ।
यिनका पिता विलियम वोराल मायो (१८१९–१९११) पनि फिजिसियन थिए, त्यसैले आफ्ना बाबुले स्थापना गरेको मायो क्लिनिकलाई दुईभाई छोरा डाक्टरले त्यही नाममा विश्वप्रसिद्ध आयुर्विज्ञान अनुसन्धान केन्द्र बनाए। अमेरिकाको रोचेस्टरमा त्यो प्रसिद्ध विशाल अस्पताल, एरिजोना र फ्लोरिडा मूख्य कलेजहरू मिनेसोटा, विस्कन्सिन र आईओवामा आंगिक सेवा केन्द्रहरू सञ्चालनमा छन् ।
उनले यो भनाई सर्जनको रुपमा सेवा निवृत्त भएपछि (१९२८ मा) नेसनल एडुकेसन एसोसिएसनको सभामा भाषणको क्रममा बिट मार्ने बोली ('चाबी-मन्त्र' : 'key-note' संवोधन) का रुपमा राखेका थिए। त्यो सभाका सहभागी प्रशिक्षकहरूसँग ‘अमेरिकन मेडिकल एसोसिएसनको उद्देश्य र आदर्श’ विषयमा सम्बोधन गर्दा भनेका थिए : “The aim of medicine is to prevent disease and prolong life; the ideal of medicine is to eliminate the need of a physician.”
चन्द्रमणि गाैतम