चालु आर्थिक वर्षको दुई महिना अवधिमा रु.२६३ अर्ब १४ करोड विप्रेषण आप्रवाह भएको छ । विप्रेणण आप्रवाहमा १५.२ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।
गत साउन महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड विप्रेषण भित्रिएको थियो । भाद्रमा १ खर्ब २६ अर्ब २१ करोड रकम भित्रिएको छ ।
दुई महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७६,४८५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४,४५५ रहेको थियो ।
भाद्रमा ३९ हजार ५५७ जनाले यस्तो स्वीकृति लिएका हुन् । साउन महिनामा ३६ हजार ९२८ नेपालीले वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए ।
त्यसैगरी दुई महिनाको अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ४०,५८३ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२,००४ रहेको थियो ।
साउनमा १६ हजार ४२३ ले पुनः श्रम स्वीकृति लिएका थिए भने भदौ महिनामा १५ हजार ५८१ जनाले यस्तो स्वीकृति लिएको देखिन्छ ।
नेपालपत्र संवाददाता