शुक्रबार, कार्तिक ७ गते २०८३

यो जहरबाट देश र जनतालाई जोगाऔ मित्रहरु !


आश्विन २७, २०८१ आइतबार

लोकनारायण सुबेदी

धर्म, जाति, संस्कृति लगायतका अत्यन्तै संबेदनशील कुरामा आधारित अनाबश्यक विवादले समाजमा गहिरो विभाजन ल्याउन सक्छ। यस्तो विभाजनले समुदायबीच अनाबश्यक दुश्मनी र द्वेषको अनुचित भावना उत्पन्न गराउँछ, । फलतः जन समुदायहरूका बीच आपसी समझदारी, मेलमिलाप, र शान्ति नष्ट हुन्छ र असाध्य कलहको बिजारोपण हुन्छ। बिश्वभरी नै यसता घटनाहरूको दुष्प्रभावहरूको परिणति देख्दै भोग्दै गरेका अनेक अनुभवहरू पनि छन् । त्यसले समाजमा न्याय, समानता, स्वतन्त्रता र बन्धूत्वको प्रबर्द्धन गर्ने ठोस उपायहरूको खोजी अबलम्बन गरिनै पर्दछ। अनि सबै प्रकारका  यस्ता षड्यन्त्रबाट बच्नुपर्ने प्रमुख आबश्यकता यसप्रकार रहेको दर्शाउन सकिन्छ :—

१.समाजको एकता र शान्ति खल्बलिन्छ: धर्म, जाति, र संस्कृति जस्ता गम्भीर र  संवेदनशील विषयहरूमा उछाल आउँदा मानिसहरू बीच नराम्रोसँग अनाबश्यक दूरी बढ्छ। अनि आपसी द्वन्द्वले समाजमा अशान्ति र हिंसा निम्त्याउँछ, जसले शान्तिपूर्ण सहअस्तित्वलाई खतरामा पार्न सक्छ।

२.आर्थिक प्रगतिको बाधा: समाजमा विभाजनको वातावरण सिर्जना हुँदा विकासका गतिविधिहरू नराम्रोसँग प्रभावित हुन्छन्। जनताबीचको असहमतिले सहयोग र सहकार्यको भावना हराउँछ, जसले आर्थिक विकास र प्रगति रोक्न सक्छ।हाम्रै देशको र बिश्वका अन्य राष्ट्र समुदायको इतिहासमा नजर लगाउँदा पनि यही कुरा स्पष्ट देख्न सकिन्छ ।

३.राजनीतिक फाइदाका लागि दुरुपयोग: धर्म, जाति, र संस्कृति जस्ता विषयलाई सामान्तबाद र साम्राबाज कतिपय दल, राजनीतिबाज र  समूहहरूले आफ्नो  संकीर्ण र सीमित स्वार्थका लागि यसको दुरुपयोग गर्ने गर्छन्। यस्ता अबाञ्छित विवादले जनताको ध्यान वास्तविक समस्या, जस्तै बेरोजगारी, यूवा पलायन, अनिबार्य शिक्षा र स्वास्थ्य आदि आधारभूत कुराबाट हटाएर उनीहरूलाई सानो-तिनो कुरामा उल्झाउँछ र फँसाइदिन्छ ।

४.सामाजिक सद्भाव नष्ट हुन्छ: यस्ता विभाजनकारी षड्यन्त्रहरूले समाजमा अझ बढी घृणा, अविश्वास र कट्टरताको भावना उत्पन्न गर्छ, जसले गर्दा लामो समयसम्मको सामाजिक सद्भाव र शान्तिपूर्ण सहअस्तित्वलाई कमजोर बनाउँछ। एक पटक समाजमा विभाजन र द्वेषको भावना बलियो भएपछि, पुनः मेलमिलाप गर्न धेरै लामो समय लाग्छ। बिश्वमा यस्ता अनेक उदाहरणहरू जीबन्त रहेका छन् ।

५.अव्यवस्था र असुरक्षाको माहौल: धर्म, जाति वा संस्कृति आधारित उग्र भावना जनतामा छर्ने कार्यले समाजमा अस्थिरता र अराजकता निम्त्याउँछ। यसले राज्यको कानुनी व्यवस्थामा चुनौती पुर्‍याउँछ र सुरक्षा स्थिति कमजोर हुन्छ, जसले गर्दा आमजनताको जीवनमा असुरक्षाको अनुभव बढ्छ र अन्ततोगत्वा यसले बाह्य हस्तक्षेप निम्त्याउने बातावरणा बनाउँदछ । यो जहरबाट देश र जनतालाई जोगाऔ मित्रहरु नत्र हामी सकिने छाैं । जुनसुके देश पनि सकिने छ । याे बिष फैलिएपछि बाँचिदेन ।

त्यसैले, यस्तो षड्यन्त्रलाई समयमै चिन्नु र त्यसबाट बच्नुपर्ने आबश्यक उपायहरूको खोजी  गर्नु समाजमा शान्ति, विकास, र एकताको लागि अनिवार्य हुन्छ। समाजमा जनतालार्इ परस्पर जोड्ने र उनीहरूको एकतालार्इ अझ सबल तथा सुदृढ बनाउने तत्वहरू के के छन्र अनि उनीहरूलार्इ तोड्ने, छिन्न भिन्न पार्ने र त्यसबाट गलत फाइदा उठाउने तत्वहरू के के रहेका छन् तिनलार्इ केलाएर  सबै धर्म, जाति र संस्कृतिलाई सम्मान गर्दै आपसी समझदारी र परस्पर  मेलमिलापलाई प्राथमिकताकासाथ निरन्तरता दिनु नै बर्तमानको अपरिहार्य राष्ट्रिय आबश्यकता र कर्तब्य हो । अनि सभ्य समाजको परिचायक पनि ।