काठमाडौं, हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले अञ्जु श्रेष्ठलाई आफ्नो प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । उनी नेपालको जनरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएकी छिन् । उनले आजबाट आधिकारिक रूपमा आजदेखि सीईओको भूमिकामा कामको थालनी गर्ने कम्पनीले बताएको छ ।
नवनियुक्त सिईओ श्रेष्ठको बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । २०५२ सालमा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा उनको यात्रा सुरु भएको थियो । सिईओको रूपमा श्रेष्ठले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने कम्पनीले जनाएको छ ।
नियुक्तिको अवसरमा नव नियुक्त सीईओ अञ्जु श्रेष्ठले हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदा सम्मानित महसुस गरेको बताइन् । उनले भनिन् “अबको मेरो भूमिका भनेको नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्ने हुनेछ । मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो ।”
कम्पनीका अध्यक्ष महेन्द्र के. श्रेष्ठले नवनियुक्त सीइओ श्रेष्ठले बीमा क्षेत्रको, अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझेको भन्दै कम्पनीलाई अझ उचाइमा लैजान सक्षम हुने आशा व्यक्त गरे ।
नेपालपत्र संवाददाता