जनसेवा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई १२.३० प्रतिशत लाभांश प्रदान गरेको छ । संस्थाको हालै सम्पन्न ३२ औं साधारण सभाले पारित गरेको लाभांश सदस्यहरुकै खातामा जम्मा गरिएको व्यवस्थापक प्रेमसागर अधिकारीले जानकारी दिए ।
सहकारी ऐन २०७४ को परिच्छेद १० को दफा ६९ र ७१, सहकारी नियमावली २०७५ को परिच्छेद ६ को दफा २५, दफा २७ को उप दफा १ ‘ख’, संस्थाको विनियम २०५० को परिच्छेद ७ को दफा ५.२ को उपदफा १ तथा ३२ औं बार्षिक साधारण सभाको अख्तियारी बमोजिम आ.ब.०८०/८१ को मुनाफाको आधारमा संस्थाले लाभांश वितरण गरेको उनले बताए ।
संस्थाले विभिन्न कोषमा छुट्टाईएको रकम मध्ये शेयर लाभांश कोषमा छुटयाएको रकमको आधारमा प्रति शेयर १२.३० प्रतिशत, कारोवारको आधारमा वितरण गरिने संरक्षित पूँजी फिर्ता कोषको रकम मध्ये ऋणमा तिरेको ब्याजको आधारमा ३.३३४५ प्रतिशत र बचतमा प्राप्त गरेको ब्याजको आधारमा ३.५६४३ प्रतिशतका दरले शेयर सदस्यहरुको नियमित बचत खातामा जम्मा गरि सकिएको संस्थाले जनाएको छ । उक्त रकम नगद लिन चाहने सदस्यहरुलाई कार्यालय समय भित्र संस्थामा आफै उपस्थित भई लिन समेत आग्रह गरेको छ ।
सभाका प्रमुख अतिथी पोखरा महानगरपालिका वडा न १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे रहेका थिए । संस्थाका अध्यक्ष चेतनाथ गौतमको अध्यक्षतामा भएको साधारण सभामा कोषध्याक्ष टिकाराम आचार्यलेआर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी ३ करोड ६१ लाख,बचत संकलन ३२ करोड २२ लाख , ऋण लगानी २९ करोड २५ लाख गरी कुल कारोबार ४० करोड ४३ लाख पुगेको छ । संस्थाको संस्थागत पुँजी २ करोड ६८ लाख रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले गत आ.ब.मा ४२ लाख ६४ हजार नाफा आर्जन गर्न सफल भएको छ ।
सभामा बर्ष उत्कृष्ठ सदस्य जित बहादुर भुजेल, उत्कृष्ट कारोवारी निमा लामा नेपाली र ढाकामोहन गौतम उत्कृष्ट शेयर खरिद कर्ता विष्णु प्रसाद अधिकारी र शरस्वती गिरी र ४)जेष्ठ सदस्य गणेस प्रसाद पोडेल, जानुका आचार्य र जसोदा काफ्लेलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट बाल बचत कर्तातर्फ ऋषीकेश के.शी. र अनुस्का के.सी., बर्ष उत्कृष्ट बचत कर्ता गिता पौडेल र विष्णु प्रसाद गौतम एस.ई.ईमा उत्कृष्ट अङ्क ल्याउने समृद्धि पौडेल र प्रदिप गिरीलाई सम्मान गरिएको थियो । सम्मान स्वरुप बाल बचत कर्तालाई स्टेसनरी विध्यार्थीलाई नगद, जेष्ठ सदस्यलाई न्यानो कपडा प्रदान गरिएको थियो भने अन्य विधामा शेयर सदस्यहरुलाई १ हजार ५ सय बराबरको १५ थान शेयर प्रदान गरी सम्मान गरिएको संस्थाले जनाएको छ ।
