राजधानी काठमाडौंसँग सडक मार्ग यातायात अवरुद्ध भएपछि हवाइजहाजबाट यात्रा गर्नेको चाप बढेको छ । केहि दिन अघि परेको अविरल झरीले गर्दा बाढीपहिरो गएपछि मुख्य सडक सञ्जाल अवरुद्ध भएका थिए ।
सडकबाट आवतजावत ठप्प बनेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप थेगिनसक्नु भएको हो । विमानस्थलबाट हुने हवाई उडानको नयाँ रेकर्ड समेत कायम भएको छ । सोमबार एकै दिनमा पाँच सय ५९ उडान भएका छन् ।
आन्तरिक र बाह्य गरेर पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिएका छन् । उनका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ डिपार्चर र दुई सय २१ अवतरण अराइभल उडान भएका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन् । प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको बताए ।
यसअघि अघिल्लो वर्ष दसैँका बेला यस्तो उडान चाप रहेकाे उनले जनाए। विमानस्थलको विवरण अनुसार आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक अधिकतम पाँच सय हाराहारी उडान भएका थिए ।
विमानस्थलका प्रवक्ता शेर्पाले आजका लागि आन्तरिकतर्फ एक सय ६९ अराइभल र एक सय ६९ डिपार्चर उडान तालिका तय गरिएको बताए । अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने उनले बताए । हेलिकप्टरको उद्धार उडानको सङ्ख्या पनि उल्लेख्य सङ्ख्यामा हुनेछन् ।
वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुलेपनि यात्रुलाई यात्रा गर्न निकै कष्टकर भइरहेको बेला एकमात्र विकल्प हवाइ मार्ग रहेको छ।
नेपालपत्र संवाददाता