पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलाको पहिरो पन्छाएपछि अवरुद्ध सडक खुलेको छ । राजमार्गमा अलपत्र परेका एक हजार सात सय ७ सवारी साधन काठमाडौं उपत्यका भित्रिएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साझँदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरु लिएर सयौं सवारीसाधन काठमाडौं भित्रिएको जानकारी दिए । त्यसैगरी सोमबार दिउँसोपछि काठमाडौंबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको उनले जनाए ।
‘आजबाट उपत्कायबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरने छन्’, उनले भने, ‘मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसित समन्वय गरेर अघि बढेको छ ।’
साझँसम्म काभ्रेपलान्चोकको बीपी राजमार्गको रोशी खोला क्षेत्रमा अलपत्र परेका सबै यात्रुहरुको उद्दार भइसक्ने प्रवक्ता तिवारीले बताएका छन् । नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाइ उद्दारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरुको उद्दार निरन्तर गरिरहेको उनले बताए । प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सावधानी अप्नाउनुपर्नेमा जोड दिए ।
नेपालपत्र संवाददाता