नख्खु खोलाले बगाएका दुई जनाको सकुशल उद्धार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए ।
काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्धार गरेका थिए । खोलाले बगाएर झन्डै ५ सय मिटर तल पुर्याएपछि तामाङले उर्लंदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए । तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको जानकारी दिए ।
विपद् प्रतिकार्यमा तामाङले खेलेको भुमिकाले नागरिक स्तरमा समाजसेवी भावना जागृत गरेको बताउँदै मुख्यमन्त्री लामाले सामाजिक कामका लागि सम्मान गर्न लागिएको बताए । तामाङको सहासिक कार्यले विपद् व्यवस्थापनमा आम नागरिकले कस्तो भूमिका खेल्न सक्छन् भन्ने उदाहरण र प्रेरणा मिलेको बताउँदै मुख्यमन्त्री लामाले आगामी दिनमा विपद् प्रतिकार्यका लागि तामाङ जस्ता युवालाई प्रदेश सरकारले साथमा लिने बताए ।यसैबीच मुख्यमन्त्री लामाले विपद् व्यवस्थापन र बाढी, पहिरो प्रभावितको तत्कालि उद्दार र राहत व्यवस्थापनका लागि प्रदेश सरकारले १३ वटै जिल्लामा आवश्यक जनशक्ति व्यवस्थापन गरेको बताएका छन् ।