हस्तकला ग्राम स्थापना तथा संचालन सम्बन्धी विधयेक वागमती प्रदेश सभाबाट पारित भएको छ । बागमती प्रदेश सभाबाट हालै बागमती प्रदेश भित्रका ११९ पालिकाहरुमा ती पालिकाहरुको विशेषता र प्रकृति अनुरुपका हस्तकला ग्राम स्थापना गरी संचालन गर्ने सम्बन्धी सो विधेयक पारित गरेको हो ।
विधयेकले हस्तकला क्षेत्रको दीर्घकालिन विकासको लागि ठुलो संभावना र अवसरको ढोका खोल्ने विश्वास नेपाल हस्तकला महासंघले गरेको छ । हस्तकला उद्योग ब्यवसायको दिगो विकासको लागि हस्तकला ग्राम स्थापना गरी संचालन गर्नको लागि महासंघले नेपाल सरकार समक्ष पहल र पैरवी गर्दै आई रहेको थियो ।
वार्षिक रुपमा नेपाली रुपैयाँ १२ अरब हाराहारीमा भारत, चीन लगायत तेश्रो मुलुकहरुमा निर्यात ब्यापार भई रहेको र झण्डै सोही परिमाणमा आन्तरिक कारोबार रहेको तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा गरी ११ लाख ब्यक्तिहरुले रोजगारी प्राप्त गरी रहेको हस्तकला उद्योग ब्यवसायको समष्टिगत विकास र बिस्तारका लागि हस्तकला ग्राम स्थापना एक कोशेढुंङ्गा हुने अपेक्षा महासंघको छ ।
विधयेक पारित भएसँगै सो अन्तर्गतका कानून, नियमावली, र निर्देशिकाहरु तर्जुमाका साथै ग्राम स्थापनाको लागि आर्थिक श्रोत ब्यवस्थापन छिट्टै हुनेमा आशा महासंघले गरेको छ ।
नेपालपत्र संवाददाता