यातायात व्यवस्था विभागले दसैं–तिहारका अवसरमा घर जाने यात्रुहरूले टिकट लिनका लागि अग्रिम बुकिङ खोलिने जानकारी दिएका छन् । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले यातायात व्यवसायीहरूसँगको वार्तामा यही असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा सहमति भएको जनाउँदै केहि दिनमा निर्णय सार्वजनिक गर्ने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच अग्रिम वुकिङ खोल्ने विषयमा छलफल भएको थियो।
चाडपर्व नजिकिँदै गर्दा अत्यधिक सवारी यात्रालाई सुरक्षित बनाउन सरकारले सडकका सबै अवरोध हटाउने भएको छ। सरकारले राष्ट्रिय राजमार्गमा भएका अवरोध हटाउने र सञ्चालन भइरहेका स्तरोन्नति कार्य तत्काललाई रोक्ने निर्णय गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज १० गतेसम्म राष्ट्रिय राजमार्गमा भएका सबै अवरोध हटाएर सडक खुला गरिने जनाएको छ। दसैंमा घर जाने यात्रुलाई सुरक्षित यात्रा गर्ने वातावरण सिर्जना गर्न मन्त्रालयले यातायात व्यवस्था विभाग मातहत सबै जिल्लाका राष्ट्रिय राजमार्ग सफाइ गरिरहेको छ। सडकमा भइरहेका काम तत्काललाई रोक्ने र सडकमा थुपारिएका निर्माणका सामान हटाइँदै छ। बाढी पहिरो तथा वर्खायाममा बिग्रिएको सडक पुनर्निर्माण गरेर चिटिक्क बनाउन लागिए उनले जनाए ।