शुक्रबार, कार्तिक ७ गते २०८३

इन्द्रलाई सजाय दिइने जात्रा - इन्द्रजात्रा

आश्विन ५, २०८१ शनिबार
इन्द्रलाई सजाय दिइने जात्रा - इन्द्रजात्रा

maheshwar.jpg

महेश्वर श्रेष्ठ
प्रत्येक वर्ष भाद्रशुक्ल द्वादशीदेखी आश्विनकृष्ण चतुर्थी आठ दिनसम्म नेवारहरुले एउटा विशिष्ट र अनौठो जात्रा मनाउने गर्दछन् जसलाई अहिले इन्द्रजात्राको नामले जानिन्छ र जसलाई नेवारहरुले आफ्नो पुरानो बस्तीहरुमा अहिले पनि मनाउने गर्दै आएका छन् । इन्द्रजात्रा यस कारण विशिष्ट जात्रा हो कि देवराज इन्द्र वैदिक देवता भएर पनि नेवारहरुले बाहेक वैदिक धर्म मान्ने अरु कुनै जातजाति वा समुदायले यस्तो जात्रा मनाउंदैनन् । कुनै देव देवीको जात्रा भन्ना साथ अकसर हामी सम्बन्धित देवी वा देवताले गरेको विशेष सतकर्म वा पराक्रमको आधारमा निज देवी वा देवतालाई विशेष सम्मान गर्न मनाइने जात्रा भनेर बुझ्दछौं । तर नेवारले मनाउने इन्द्रजात्रा इन्द्रलाई सम्मान गर्न मनाइने जात्रा होइन, इन्द्रले गरेको एउटा सामान्य गल्तीका लागि तत्कालिन नेपाली जनता अर्थात नेवारहरुले उनलाई दिएको सजायको स्मरणमा मनाइने जात्रा हो । रावणको पुतला जलाउनेसम्मको अपमानजनक र घृणायुक्त जात्रा नभए पनि इन्द्रको मानमर्दन गर्न मनाइने इन्द्रजात्रा त्यसकारण अनौठो पनि हो । 
इन्द्रलाई दिइएको सजाय सम्बन्धी कथाको सार यस्तो छ । देवराज इन्द्रकी आमाले गर्ने विशेष पूजाका लागि पारिजात फूल चाहिएको थियो । तर त्यस बेला त्यों फूल मर्त्यलोकको जम्बू महाद्वीप, हिमवत खण्ड, नेपाल देशमा मात्र पाइने भएकोले इन्द्र यहां आई बिहान झिसमिसेमा एउटा बगैंचामा पसी कसैसंग नसोधी त्यहां भएको पारिजात फूलको रुखबाट फूल टिपिरहेको बेला बगैचा धनीले देखेर चोर चोर भनी हल्ला गर्दा छरछिमेक उठेर आई इन्द्रलाई पकडेछन् र सजाय दिलाउनको लागि राजा समक्ष उपस्थित गराएछन् । पारिजात फूललाई बोटबाट टिप्न हुंदैन, भुईंमा झरेको मात्र टिप्नु हुन्छ भन्ने मान्यता नेपालीहरु माझ अहिले पनि कायम छ । तर  इन्द्रले भुईंमा झरेको फूल मात्र नटिपेर रुखबाटै टिपेको र त्यो पनि कसैसित नसोधी अथवा बगैंचा मालिकको अनुमति नलिइकन फूल टिपेको (अर्थात चोरी गरेको) दोहोरो अपराध गरेको ठहर गरी राजाले उनलाई आठ दिनसम्म बस्तीका मुख्य मुख्य चोकमा अग्लो टाँडमा राखी पारिजात फूल चोर यही हो भनेर सार्वजनिक प्रदर्शन गर्ने सजाय आदेश गरेछन् । फूल चोर इन्द्र टाँडबाट ओर्लेर भाग्ला भनेर उनलाई टाँड माथि पनि सिक्रीले बांधेर राखिन्छ । टाँडमा टेक्न मिल्ने कुनै आंख्लो वा टेक्सो केहि बाकी राखिन्न । पछि इन्द्रकी आमा बसुन्धराले दागीं (डंकिनी?) को रुप धारण गरी आफ्नो छोरालाई मुक्त गरिदिन अनुनय विनय गर्छिन् । नेपाली जनतालाई मरे पछि स्वर्ग पठाइदिने र धान पाक्ने बेलामा शीत पारिदिने बचन दिए पछि आठौं दिन इन्द्रलाई सजाय मुक्त गरिएको मानिन्छ ।  इन्द्रलाई सजाय दिइएको दण्डजात्रा यस किसिमले प्रत्येक वर्ष मनाउने गरिंदै आएको छ । काठमाडौं उपत्यकाका टोल र वस्तीहरुमा मात्र होइन नेवारहरुको ऐतिहासिक वसोवास भएको काभ्रे, दोलखा, नुवाकोट लगायत सबै जसो ठाउंमा यसरी नै इन्द्रजात्रा मनाउने गरिन्छ । 
इन्द्रजात्राको सन्देश यो हो कि अपराध गर्ने अपराधी देवता होस् वा राक्षस, राजा होस् वा रंक, मानव होस् वा दानव, उसले सजाय पाउनै पर्छ, उन्मुक्ति पाउन हुंदैन भन्ने नै हो । देवताका समेत राजा इन्द्रलाई जाबो केहि पारिजात फूल कसैलाई नसोधी रुखबाटै टिपेको अति सामान्य गल्ती गर्दा पनि माफी नदिने, सार्वजनिक बेइज्जती गर्ने जस्तो कठोर सजाय दिने तत्कालिन नेपाली जनता र शासक कति धेरै न्यायप्रेमी र नियमपालक थिए भन्ने सन्देश पनि यस जात्राको कथाले दिइरहेको बुझ्न सकिन्छ । कडा नियमपालकहरुको देश भएकोले नै सायद देशको नाम नेपाल रहन गएको हो कि भनेर अर्थ लगाउंदा अन्यथा हुने छैन । यसलाई वैदिक र अवैदिकहरु बिचको द्वन्द्वको एउटा विशेष परिघटनाको रुपमा पनि बुझ्न सकिन्छ । अस्तु ॥
लेखन मितिः २०१८।०८।२२

साभार  महेश्वरजीकाे मुहारपुस्तिका