शनिबार, आश्विन १७ गते २०८३

एनआइएमबि एस क्यापिटलको आयोजनमा पहिलो ‘इन्भेस्टर्स सर्कल’


आश्विन २, २०८१ बुधबार
एनआइएमबि एस क्यापिटलको आयोजनमा पहिलो ‘इन्भेस्टर्स सर्कल’

काठमाडौं । एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरुका प्रमुख कार्यकारी निर्देशकहरु लगायत अन्य सरोकारवाला एवम निर्णायक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।  

उक्त कार्यक्रम नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्यमा केन्द्रित रहेको थियो । कार्यक्रमका सहभागीहरूले नेपालमा प्राइभेट इक्विटीका अवसरहरूका बारेमा अर्थपूर्ण संवाद एवं छलफल गरेका थिए ।

एनआइएमबि एस क्यापिटलको भिजन र मिसनका बारेमा स्पष्ट पार्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री शिवान्त बहादुर पाँडेले नेपालको समग्र आर्थिक वृद्धिमा प्राइभेट इक्विटीको महत्वलाई जोड दिई आफ्नो कम्पनीको रणनीतिक उद्देश्यहरू प्रस्तुत गर्दै नेपालमा प्राइभेट इक्विटी क्षेत्रको उदाउँदा अवसरहरूलाई प्रस्ट्याएका थिए । 

प्रख्यात मोटिभेसनल स्पीकर अतुल सत्य कौशिकले “भागवत गीतामा आधारित नेतृत्व र व्यवस्थापनका पाठहरू” शीर्षकमा विचार पस्कँदै पौराणिक ज्ञानबाट आधुनिक चुनौतीहरूको सामना गर्ने तरिकाहरु बताएका थिए । 

एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले प्राइभेट इक्विटीका आधारभूत विषयहरू र एनआइबिएल इक्वीटी पार्टनर्सले हालसम्म जगदम्बा स्पिनिङ मिल्स, डेलिश डेरिज, शिन्तामनी मुस्ताङ्ग र फिक्कल टी एन्ड कफी जस्ता कम्पनिहरुमा गरेको लगानीको सफलताका बारेमा आकर्षक प्रस्तुति दिएका थिए । 

समापन मन्तव्यमा उपस्थित सहभागीहरूलाई उत्साहपूर्ण सहभागिता र समर्थनको लागि धन्यवाद दिँदै एनआइएमबी एस क्यापिटल लिमिटेडका अध्यक्ष सचिन तिब्रेवालले  प्राइभेट इक्विटीमा लगानीलाई विस्तार गर्ने एनआइबिएल इक्वीटी पार्टनर्सको प्रतिवद्धतामा जोड दिए । 

कार्यक्रममा सहभागीहरूलाई सम्भावित सहकार्य र लगानीको भावी सम्भावनाहरू सम्बन्धी थप छलफलमा संलग्न हुने अवसर प्रदान गरेको थियो । थट लिडरसिप, स्ट्राटेजिक नेटवर्किङ, र अनुभव आदानप्रदानको उत्कृष्ट सम्मिश्रणले ‘इन्भेस्टर्स सर्कल’ सफल गरेको आयोजकको विश्वास छ ।

एनआइएमबि एस क्यापिटलद्वारा आयोजित उक्त कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा प्राइभेट इक्विटी लगानीलाई अगाडि बढाउने र रणनीतिक साझेदारीलाई प्रोत्साहन गर्ने कम्पनीको प्रतिवद्धतालाई दर्शाएको छ ।