आइतबार, आश्विन १८ गते २०८३

अख्तियारले बुझायो राष्ट्रपति पौडेललाई प्रतिवेदन


भाद्र ३०, २०८१ आइतबार
अख्तियारले बुझायो राष्ट्रपति पौडेललाई प्रतिवेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँदै  आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार ९ सय १८ उजुरीहरू परेको जानकारी दिए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरीहरू समेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६ हजार १८६ रहेको  उनले बताए  ।

उनले यस अवधिमा कुल ३६ हजार १ सय ८६ उजुरीमध्ये २७ हजार ७१४ अर्थात ७६।५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्राथमिक छानबिनबाट फर्छ्यौट भएको बताए । प्रमुख आयुक्त राईले फर्छ्यौट गरेका उजुरीहरूमध्ये आयोगको क्षेत्राधिकारभित्र नपरेका गोलमटोल प्रकृतिका भइरहने वा दुःख दिने नियतका र कुनै तथ्य प्रमाणबिनाका सामान्य प्रकृतिका १३ हजार ५९३ वटा उजुरीहरू तामेली गरिएको जानकारी दिए । 

उनले फर्छ्यौट भएकामध्ये १ हजार १३३ वटा उजुरीहरूउपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको, १३१ उजुरीउपर सुझाव दिई तामेली गरिएको र १२ हजार ७८६ उजुरी उपर कानून बमोजिम अन्य आवश्यक कारबाही गरिएको पनि जानकारी दिए ।  

प्रमुख आयुक्त राईले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी ३४, सार्वजनिक सम्पत्तिको हानी नोक्शानीसम्बन्धी ३३, राजश्व चुहावटसम्बन्धी १३, गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी ११, विभिन्न विषयका ४ वटा मुद्दाहरू रहेको बताए । उल्लेखित आरोप पत्रहरूबाट कुल १ हजार ४५ जनालाई प्रतिवादी बनाई ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ रुपैयाँ बिगो माग दाबी लिइएको छ ।