जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ ।
भदौ अन्तिम साता काठमाडौंमा हुने सेमिनारका बारेमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले भारत, बंगलादेश, म्यानमार र भुटानका प्राध्यापक, वैज्ञानिक र जलवायु तथा वातावरणको क्षेत्रमा कार्यरत विज्ञहरू सहभागि हुने जनाएको हो । सेमिनार आयोजक समितिका संयोजक निकेश कुमार लम्सालले कार्यक्रममा म्यानमारलगायत दक्षिण एसियाली राष्ट्रका प्रतिनिधिहरूले जलवायु परिवर्तन, वातावरणीय प्रभाव र यसको असर सम्बन्धी विभिन्न प्रस्तुति दिने जानकारी दिए ।
विभिन्न देशका विज्ञहरूको सहभागिता रहने कार्यक्रममा पच्चिस भन्दा बढी कार्यपत्रहरू प्रस्तुत हुनेछन् । कार्यक्रममा केही देशका विज्ञहरू पनि अनलाइनमार्फत् जोडिने छन् भने सेमिनारको अन्त्यमा काठमाडौं घोषणापत्र जारी हुनेछ ।
स्थानीय तथा परम्परागत ज्ञान, वैज्ञानिक अध्ययन अनुसन्धान र प्रभावकारी नीति तर्जुमा गर्दै राष्ट्रहरू बीचको नियमित संवाद र सहकार्यमार्फत् साझा प्राकृतिक स्रोत साधनहरूको समन्वयात्मक एवं समुन्नत सदुपयोग गरी यस क्षेत्रका सम्पूर्ण मानिसहरूको साझा हित रक्षार्थ तीन दिने कार्यक्रम कोषेढुङ्गा हुने अपेक्षा गरिएको संयोजक लम्मालले बताए ।
सेमिनार नीति अनुसन्धान प्रतिष्ठान नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, एशियाली अनुसन्धान केन्द्र– त्रिभुवन विश्वविद्यालय, भारतीय सामाजिक विज्ञान अनुसंधान परिषद, भारतीय प्रबन्ध संस्थान शिलोंग, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ –आईयूसीएन र क्लाइमेट एलायन्स अफ हिमालयन कम्युनिटिजको संयुक्त आयोजनामा हुने भएको हो ।
नेपालपत्र संवाददाता