शनिबार, आश्विन १७ गते २०८३

असोज पहिलो सातादेखि चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन हुने


भाद्र २५, २०८१ मंगलबार
असोज पहिलो सातादेखि चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन हुने

 

सरकारले चाडपर्वलक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा आउँदो असोजको पहिलो सातादेखि सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी भएको हो । सरकारले वाणिज्य मन्त्रालयमार्फत खर्च गर्ने गरी सहुलियत पसल सञ्चालनका लागि तीन करोड रुपियाँ बजेट विनियोजन गरेको छ । 

चाडपर्वका बेलामा बजारमा बढी खपत हुने वस्तुको मूल्य नियन्त्रणका लागि सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । चाडपर्वको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानमार्फत सहुलयित पसल सञ्चालन हुँदै आएको छ । खाद्य कम्पनीका अनुसार सहुलियत पसल सञ्चालनमा आएपछि कम्पनीले बिक्री गर्ने चामलको मूल्यमा प्रतिकेजी पाँच रुपियाँ छुट गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हालै गरेको बजार विश्लेषणमा चामलको मूल्य बजारमा भन्दा सस्तो छ । त्यसमा पनि सहुलियत पसल सञ्चालन भएपछि थप पाँच रुपियाँ छुट दिने कम्पनीले जनाएको छ । 

देशभरि ४२ जिल्लाका विभिन्न ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुने जनाइएको छ। जसमध्ये उपत्यकाका चार स्थानमा सहुलियत पसल सञ्चालन हुने छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत पसलमार्फत नुन, चिनी खानेतेलमा छुट गर्ने जनाएको छ । कर्पोरेसन नुनमा प्रतिकेजी दुई रुपियाँ, चिनीमा प्रतिकेजी पाँच रुपियाँ र खाने तेलमा प्रतिलिटर सात रुपियाँ छुट दिने प्रस्ताव गरेको छ ।