त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरूमा क्याम्पस प्रमुख चयनका लागि खुल्ला प्रतिस्पर्धा गराउने भएको छ । त्रिविले १९ वटा क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा दरखास्त आव्हान गरेको छ।
त्रिवि शिक्षाध्यक्षको कार्यालय, कीर्तिपुरले क्यापस प्रमुख छनौट समितिको सूचना प्रकाशित गर्दै पद रिक्त भएका क्याम्पसहरूमा प्रमुखको लागि ७ दिन भित्र आवेदन दिन भनेको छ । इमेलमार्फत् विनियमले तोकेका आवश्यक कागजात र आशयपत्र इमेलमार्फत पेश गर्न सकिने सूचनामा जनाइएको छ।
त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम (संशोधन सहित) को परिच्छेद ५२ को नियम १८५ काे २ का साथै त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ को परिच्छेद १९ बमोजिम त्रिविले यस्तो आवेदन आह्वान गरेको हो । क्याम्पस प्रमुख पदका लागि योग्य उम्मेदवारहरूले विनियमको दफा ३९ काे २ मा व्यवस्था भए बमोजिम आवश्यक कागजात पेस गर्नुपर्नेछ ।
त्रिविले भाद्र १७ गते रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल, सुर्खेत क्याम्पस सुर्खेतका लागि क्याम्पस प्रमुखको पदमा आवेदन माग गरेको हो । यसैगरी सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि आवेदन माग गरिएको छ ।
साथै, भाद्र १८ गते वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवन, महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज बाँके, सानोठिमी क्याम्पस भक्तपुर, ललितकला क्याम्पस भोटाहिटी काठमाडौं, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, धवलागिरी बहुमुखी क्याम्पस बाग्लुङ, महेन्द्ररत्न क्याम्पस ताहाचल काठमाडौं र भोजपुर बहुमुखी क्याम्पस भोजपुरको क्याम्पस प्रमुखका लागि आवेदन आह्वान गरिएको छ।
नेपालपत्र संवाददाता