नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा सकारात्मक प्रभाव देखिन थालेको बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं साधारणसभाका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले राज्य र केन्द्रीय बैंकले लिएका नीतिले यसवर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्ने बताएका हुन् ।
नाडा अटो शोमा देखिएको उत्साहले अर्थतन्त्र सकारात्मक दिशामा रहेको देखाउने उदाहरण भएको समेत उनले जनाए । चालु वर्षका लागि लचिलो मौद्रिक नीति आएको भन्दै यो निजी क्षेत्रको मनोबल उठाउन महत्त्वपूर्ण हुने उनको धारणा छ ।
‘बाह्य क्षेत्र सहज छ, मुद्रास्फीति घटेको र बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ । अटोमोबाइल र पुँजी बजारलगायत क्षेत्र चलायमान हुँदै गएको छ,’ गभर्नर अधिकारीले भने, ‘चालु आर्थिक वर्षबाट नयाँ ढङ्गले अर्थतन्त्र चलायमान हुन्छ । हाम्रो प्रणालीमा के–के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगत रुपमा समाधान गर्दै जानेछौँ ।’