–लोकनारायण सुबेदी
अमेरिकामा राष्ट्रपतिको चुनाव हुन दुइ महिनाजति बाँकी छ । चुनाव प्रचार यतिबेला त्यहाँ तीब्र उत्कर्षमा पुगेको छ । जानकारहरु भन्दैछन् चुनावी ब्यूहरचनाले अन्तिम रुप लिइसकेको छ । यस चुनाव हुनभन्दा पहिला त्यहा एउटा सबैभन्दा ठूलो घटनाक्रम पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास हुन पुग्यो । त्यस घटनाले अमेरिकी जनमानसलाई निकै नै चिन्तायुक्त तुल्याएको पनि देखियो । त्यो हत्या प्रयासका बेला डोनाल्ड ट्रम्पले जस्तो किसिमले साहासिकताको प्रदर्शन गरे त्यसबाट अमेरिक िनागरिकहरु निकै नै प्रभावित हुन पुगेको पनि देखिएको कुरा यतिबेला उल्लेख गरिदैछ ।मानिसहरुमा कस्तो धारणा बन्न पुगेको औंल्याइदैछ भने आजको अस्थिर र संघर्षसँग जुधिरहको बिश्वमा ट्रम्प जस्तो दृढ संकल्प भएको नेताको अमेरिकालाई आवश्यकता छ ।
मानिसहरु जब ट्रम्प र उमेरजन्य बिभिन्न रोगहरुको शिकार भएका जो बाईडेनको तुलाना गर्दथे त्यतिबेला पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्प नै बाईडेनभन्दा उपयुक्त बिकल्पकारुपमा सामु देखापर्दथे । यसै बेला अर्को ठूलो घटनाक्रम के भयो भने जो बाईडेन चुनावी मैदानबाट हट्न पुगे । अनि उनले उपराष्ट्रपति कमला ह्यारिसलाई चुनाबी नेतृत्व सुम्पिए । कतिपय समीक्षकहरुको त के पनि मान्यता रहेको देखिन्थ्यो भने कमला ह्यारिस बाईडेनभन्दा अझ अलोकप्रिय छन् । तर अमेरिकी राजनीतिमा सञ्चार क्षेत्र र अन्य बिभिन्न दबाब समूहको ठूलो र महत्वपूर्ण भूमिका रहँदै आएको र अहिले पनि छ । तिनले नै नेताहरुको छबि बनाउने या बिगार्ने प्रभावकारी अत्यन्तै प्रभादोत्पादक काम गर्दछन् । यो चुनाव बर्षमा पनि उम्मेद्वारीको घोषणा हुने बित्तिकै मूख्यधाराका अमेरिकी सञ्चार माध्यमहरुले कमला ह्यारिसको प्रसस्ती गाउन थालेका थिए । बिभिन्न पत्र पत्रिकाहरुमा उनी छाउन थालेकी थिइन् । एक महिला त्यसमा पनि एकजना अश्वेत ब्यक्ति राष्ट्रपति बन्ने सम्भावनालाई अमेरिकी लोकतन्त्र र समाजको ठूलो बिजयकोरुपमा प्रचारित गरिएको या गरिने स्थिति देखिदैथियो ।
तर त्यहाँ त्यो चुनावको अन्तिम चरणमा पुनः एउटा अर्को परिबर्तन आयो । त्यो के भने डेमोक्रेटिक पार्टीका दुइजना ठूला हस्तीकोरुपमा चिनिएकाहरुले डोनाल्ड ट्रम्पलाई समर्थन दिने घोषणा गरे । अमेरिकामा र बिश्वमैं पनि जाने चिनिएका केनेडी परबारका सदसय रबर्ट एस.केनेडीले, जो स्वयं चुनावका एकजना प्रत्याशी उम्मेद्वार थिए, उनी ट्रम्पको समर्थनमा गए । त्यहाँ गरिएको पूर्ब चुनाव सर्बेक्षणका अनुसार पनि रबर्ट केनेडीलाई पाँच प्रतिशत मतदाताहरुले मनपराएको देखिएको बताइन्छ । उनले यसरी अर्को पार्टीमा जाँदा त्यसबाट ट्रम्पलाई अबश्य नै चुनाव अभियान सहयोग पुग्छ नै । त्यो कडा टक्कर हुने भएको मानिने ‘स्वीग स्टेट’मा निर्णायक सिद्ध हुनसक्छ भन्ने अनुमान छ ।
त्यसरी नै डेमोक्रेटिक पार्टीका पूर्ब नेता रहेका तुलसी गबार्डले पनि ट्रम्पलाई समर्थन दिने घोषणा गरेको छ । उनी अमेरिकी सेनाको नेशनल गार्ड शाखामा लेफ्टिनेण्ट कर्नेल हुन् । कुनै समय उनलाई डेमोक्रेटिक पार्टीको उदाउदो ताराकोरुपमा पनि लिइन्थ्यो । सैनिक भए पनि उनी युद्ध बिरोधी मानिन्थे भने हिलेरी क्लिण्टन समेत डेमोक्रेटिक पार्टीका नेतृत्वमाथि युद्धोन्मादी भएको आरोप लाग्ने गरेको हो । के बिडम्बडना अमेरिकी राजनीतिमा देखिन्छ भने रिपब्लिकन पार्टीलाई पहिला साम्राज्यबादी प्रबृत्ति भएको या साम्राज्यबादपरस्त पार्टी मानिन्थ्यो । त्यसको बिपरीत डेमोक्रेटिक पार्टीको छबि शान्तिबादी र उदारबादी पार्टीकोरुपमा रहेको थियो ।

अमेरिकामा पर्यावरणबादी र युद्ध बिरोधी ग्रीन पार्टीको समर्थन गर्ने एउटा बर्ग पनि छ । गाजामा भइरहेको इजरायलको नरसंहारबाट अमेरिकामा रहेको मुस्लिम समदाय र त्यस समुदायका मतदाताहरु धेरै दुःखी र अप्रसन्न छन् । उनीहरुको कुन कुराको आकलन गरिरहेको बताइन्छ भने ट्रम्प वा कमला ह्यारिसमध्ये कसले पेलेस्टिनी बिरुद्धको नरसंहारकारी त्यो अमानबीय युद्ध रोकाउने भूमिका खेल्न सक्छन् ।
अमेरिकाको अहिलेको चुनावमा अर्को एउटा कुरा पनि जोडिन पुगेको छ । त्यो के भने अमेरिका चलिरहेको यसै चुनावी दलफसलका बीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्रमा आफ्नो सम्बोधनका लागि अमेरिका जान लागेका छन् । त्यस अवसरमा आगामी २२ सेप्टेम्बरका दिन उनले न्यूयोर्कमा एउटा ठूलो भारतीय समुदायलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको बताइन्छ । त्यसमा झण्डै २० हजार जति भारतीयहरु उपस्थित हुने सम्भावनारहेको आकलन गरिदैछ । यद्यपि त्यो सम्बोधनमा प्रत्यक्षरुपमा मोदीले ट्रम्प या कमला ह्यारिस कसैको पक्षमा पनि कुनै राय ब्यक्त नगर्लान् । नैतिकरुपमा अरु राष्ट्रको घरेलु चुनावमा त्यसो गर्न पनि नमिल्दो हो । तर ट्रम्प र कमला दुबैले यो अपेक्षा गरेका होलान् कि ती भारतीय मूलका अमेरिकी समुदायलाई सम्बोधन गर्दा इशारा इशारामै भए पनि आ–आफ्नो पक्षमा मोदीले संकेत गरिदिउन् । भारतीयहरु भन्ने गर्दछन् कि घरेलु राजनीतिमा भारतीय प्रधानमन्त्री मोदीको एजेण्डा ट्रम्पकै जस्तो छ । मोदी पनि ट्रम्पले ‘अमेरिका फस्र्ट’ भने जस्तै ‘भारत पहिला’ भन्ने त गर्दछन् । भारतमा यदि एक पटक पुनः मोदीको नारा लाग्दछ भने अमेरिका पनि त्यसैगरी पुनः एक पटक डोनाल्ड ट्रम्पको कुरा हुनसक्छ । ट्रम्पले खुलेरै इस्लामिक आतंकबादको खतराको कुरा गर्ने गर्दछन् भने कमला ह्यारिस त्यस प्रकारको शब्दाबलीको भने प्रयोग गर्ने गर्दिनन् । अमेरिकामा डेमोक्रेटिक पार्टीलाई मानबाधिकार र धार्मिक स्वतन्त्रता जस्ता मुद्दाहरुलाई बढाइ चढाइ गरेर मोदी सरकारलाई तारो बनाउदै आएकोरुपमा पनि हेरिन्छ । भारतीय मूलकी कमला ह्यारिस डेमोक्रेटिक पार्टीको भारत बिरोधी यो प्रबृत्तिमा केही हदसम्म परिबर्तन गर्ने पनि मानिन्छिन् । त्यसैबाट भारतीय मूलका अमेरिकी मतदाताहरु उनलाई कत्तिको मन पराउलान् भन्ने कुरा तय हुने पनि ठूलै अनुमान छ । यद्यपि अमेरिका बिश्वको एक मात्र मालिक आफै बन्ने धङधङ्गेबाट अझै पनि बाहिर निस्कन सकेको छैन । आन्तरिकरुपमा या चुनावका बेला जे जस्ता प्रबृत्तिहरु देखापरे पनि मूलरुपमा साम्राज्यबादी चिन्तन, चरित्र र ब्यबहारबाट अमेरिकी राजनीतिक नेतृत्वमा जो आए पनि फरक नपरेका अहिलेसम्मका अनेकौं उदाहरणहरु जीवन्त छन् । यस हिसावले हेर्दा अमेरिकाको यो चुनाव उत्पीडित राष्ट्रहरुका लागि ‘कागलाई बेल पाक्दा हर्ष न बिस्मात’भने जस्तै नै हुन्छ र बिगतलाई हेर्दा पनि त्यसै निचोडमा पुगिन्छ ।