शनिबार, आश्विन १७ गते २०८३

शिक्षा, व्यवसाय र श्रमलाई जोड्ने गरी नीति आवश्यक


भाद्र १४, २०८१ शुक्रबार
शिक्षा, व्यवसाय र श्रमलाई जोड्ने गरी नीति आवश्यक


ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले  शिक्षा, व्यवसाय र श्रमलाई जोड्ने गरी नीतिहरु बनाइनुपर्ने बताएकी छिन् । नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनारमा उनले प्राविधिक शिक्षाका लागि स्थापित सीटीइभीटी २०८१ सालमा आइपुग्दा पनि २०४५ सालकै नीति अनुरुप चलिरहेको पाठ्यक्रम परिवर्तन र पुनर्संरचना गर्नुपर्नेमा जोड दिइन् । 

नेपाल सरकार तथा स्विस सरकारको द्विपक्षीय सम्झौतामा संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाको सहयोगमा आयोजित सेमिनार शिक्षा र रोजगारी बिचको सम्बन्धलाई थप मजबुत बनाउदै नेपाली युवाहरुलाई रोजगारमूलक सिप प्रदान गरि रोजगारीका लागि योग्य बनाउने विषयमा सेमिनार केन्द्रित थियो ।

कार्यक्रमका मुख्य वक्ता चेयर अफ एजुकेसन सिस्टम ई.टि.एच. ज्युरिकका प्रोफेसर डा. उर्सुला रेनोल्डस्ले संघिय संरचनामा टी–भेट क्षेत्रमा औद्योगिक क्षेत्रको संलग्नता हुनुपर्ने बताइन् । शिक्षा प्रणालीले उद्योगले चाहेको जनशक्ति उत्पादन गर्ने सुनिश्चितता गर्नुपर्ने उनले बताइन् । 

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सीपको ठूलो अभाव रहेको बताउनुभयो । उद्योगहरूले दक्ष जनशक्ति पाउन संघर्ष गरिरहेको बताउँदै दक्ष जनशक्ति विकासका लागि शिक्षा र रोजगारी प्रणालीबीचको बेमेललाई कम गर्दै लैजानुपर्ने औंल्याए । उद्योगका लागि चाहिने दक्ष जनशक्ति निर्माणका लागि औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण हुने उनले जनाए । 

स्विस दुतावासका डेप्युटी हेड अफ मिसन÷चार्जे डी’अफेयर्स माथियास मेईरले स्विटजरल्याण्डले ड्वेल–भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रमलाई नेपालमा बिगत एक वर्ष भन्दा लामो समय देखि प्रवर्धन गर्दै आइरहेको उल्लेख गरिन् । 

सेमिनारको पहिलो सत्रमा टी–भेट कार्यक्रमहरुमा संलग्नताको लागि निजी क्षेत्रको भूमिका, नीतिगत व्यवधान र सम्भावित उपायहरुको खोजिका सन्दर्भमा छलफल गरिएको थियो । उक्त सत्रमा नेपालमा ड्वेल–भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण, युवा तथा उद्योगहरुलाई औद्योगिक प्रशिक्षणका फाइदाहरुका बारेमा गरिएको अध्ययनका नतिजाहरु र टी.ई.भि.टी मा नीतिगत अभाव सम्बन्धि कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । ती विषयहरुमा संसदीय शिक्षा समिति, शिक्षा मन्त्रालय, नेपाल उद्योग परिसंघ र उद्योग बाणिज्य महासंघका प्रादेशिक प्रतिनिधिहरुबीच छलफल गरिएको थियो । 

दोस्रो सत्रमा, टी–भेट कार्यक्रमको तालिम अवधिमा निजी क्षेत्रको भूमिकाअन्तर्गत विद्यमान अभ्यासहरुका साथै सुधारका आवश्यकताहरुको बारेमा छलफल गरिएको थियो । नेपालमा टी–भेट स्कुलहरुको अवस्था र उद्योगहरुले नेतृत्व गरेको क्षेत्रगत सिप समितिहरुले रोजगारदाताका आवश्यकता र उत्पादनबीचको दुरी कसरी कम गर्न सकिन्छ भन्ने सम्बन्धमा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।