बुधबार, भाद्र ३ गते २०८३

जीवन पानीको फोका हो पलपलमा फुट्न सक्छ, जीवन दुई दिने चोला हो क्षणक्षणमा टुट्न सक्छ.... 🌳 : इमानसिंह चेम्जोङ


भाद्र १४, २०८१ शुक्रबार
जीवन पानीको फोका हो पलपलमा फुट्न सक्छ, जीवन दुई दिने चोला हो क्षणक्षणमा टुट्न सक्छ.... 🌳 : इमानसिंह चेम्जोङ

किरात इतिहासकार तथा मुन्धुमविद् इमानसिंह चेम्जोङ (सन् १९०४–१९७५) ले कोलकतामा बिए अध्ययन गर्दागर्दै सन् १९२८ मा पिताको देहान्त भएपछि पढाई छोड्नु परे पनि उनले किरात भाषा, लिपि, साहित्य, इतिहास र संस्कृतिको खोज, अनुसन्धान तथा लेखनमा आजीवन समर्पित भए, एक दर्जन पुस्तक दिएर गए ।

साथै आर्थिक, राजनीतिक, सामाजिक, प्रशासनिक, शैक्षिक, साहित्यिक, भौतिक, धार्मिक विषयमा सदाबहार आवाज उठाउने पहलकर्मीले देवविद्या, राजविद्या, ब्रह्मविद्या र योगविद्या चतुर्थ ज्ञान तथा मनुष्य पुरुषार्थका चार अंग काम, मोक्ष, अर्थ र धर्मको साररुप दर्शनमा समर्पित रही साधना अभ्यासका कारण एक दर्जन अमूल्य ग्रन्थहरू प्रतिपादन गरे ।

किराँतको वेद किरात मुन्धुम, किरात इतिहास, किरात साहित्यको इतिहास, किरात दन्त्यकथा, किरात प्राथमिक पाठ्यपुस्तक, लिम्बू–नेपाली– अंग्रेजी शब्दकोश, मुन्धुम किरात दर्शन, लेप्चा–नेपाली–अंग्रेजी शब्दकोश, किरातकालीन विजयपुरको इतिहास, द किरात ग्रामर, हिस्ट्री एन्ड कल्चर अफ द किरात पिपुल आदि महत्वपूर्ण छन् । यी कृतिहरू लण्डन म्युजियम तथा लाईब्रेरीमा संग्रहित छन्।

इमान सिंहले सन् १९२५ मा किरात याक्थुङ चुम्लुङ गराई किरात लिपि र भाषाको प्रचारप्रसार सुरू गरे । यसका लागि कालिम्पोङको रिन्केबुङ ऐतिहासिक स्थल बन्यो । जागिर खान र भाषा बाँड्न सिक्किम, दार्जिलिङ हुँदै नेपालको पल्लो किरात लिम्बूवानमा प्रवेश गरी किरात जनसमुदायलाई जगाए ।

सन् १९५२ मा इलाममा अखिल लिम्बूवान चुम्लुङ सभा स्थापना गरी आफू अध्यक्ष र तेजबहादुर प्रसाईलाई महामन्त्री बनाई नेपाल नेपाली मानसिकतामा मुन्धुम ज्ञान, याक्थुङ शिक्षाको निम्ति राजासमक्ष माग राखे । देशबाहिर भुटान, आसाम, देहरादुन, पञ्जाब, धर्मशाला, कोलकाता, पाकिस्तानको क्वेटा, बर्मा र सिंगापुरसम्म इमानसिंह सुपरिचित छन् ।

-----------------------------
मुन्धुमविद् एवं ज्योतिषविद् डा. चन्द्रकुमार सेर्मा लिम्बू, नागरिक दैनिक, १७ पुस २०७५ को आधारमा ।