शनिबार, आश्विन १७ गते २०८३

‘नाडा अटो शो’ को १६ औं संस्करण काठमाडौंमा शुरू


भाद्र ११, २०८१ मंगलबार
‘नाडा अटो शो’ को १६ औं संस्करण काठमाडौंमा शुरू

सवारीसाधनहरूको वार्षिक प्रदर्शनी गरिने ‘नाडा अटो शो’ १६ औं संस्करण काठमाडौंमा शुरू भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा  प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनी ६ दिनसम्म चल्नेछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार एक समारोहकाबीच प्रदर्शनी शुभारम्भ गरेका छन् ।

प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् । साथै, ३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने छन् । त्यस्तै ७ वित्तीय संस्थाहरूले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुने नाडाले जनाएको छ । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।

नाडा अटो शो २०२४ का कार्यवाहक संयोजक अनुपकुमार बरालले नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीलाई, नाडा अटो शोले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उल्लेख गरिएको छ ।

नाडा अटो शोलाई नेपालको अटोमोबाइल क्यालेन्डरमा सबैभन्दा महत्त्वपूर्ण कार्यक्रमहरू मध्ये एक बनाउने आयोजकको भनाइ छ । शोमा सहभागी मध्ये एक जनाले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन्, जसलाई सिजी मोटर्स प्रालिले प्रायोजन गरेको छ ।

आयोजक अटोमोबाइल एसोसिएसनले ६ दिनको अवधिमा ७५ हजार आगन्तुकहरू मेला हेर्न आउने र १५ देखि २० अर्ब रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरेको छ ।