शनिबार, आश्विन १७ गते २०८३

परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन, अध्यक्षमा आशिष अग्रवाल


भाद्र ७, २०८१ शुक्रबार
परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन, अध्यक्षमा आशिष अग्रवाल

काठमाडौं ।  नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन भएका छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४/२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । 

अग्रवालको कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर इन्टीग्रेसन चेयर), निदा दुन मल्ल (मेम्बरसिप चेयर), पुनित अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (नेटवर्क एण्ड कम्यूनिकेसन चेयर), चिराग सरावागी (ग्रोथ एण्ड एक्सपान्सन चेयर), र साइनी खेतान (स्टार्टअप चेयर) निर्वाचित हुनुभएको छ । सन् २०२३–२४ मा अनुराग गोयल अध्यक्ष रहेका थिए । 

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै युवासँग सम्बन्धित विषयमा अनुसन्धानमा आधारित भएर सरकार तथा नियामकीय निकायहरुलाई नीतिगत सुझाव दिने मन्चलाई आग्रह गरे । 

मञ्चका निवर्तमान अध्यक्ष अनुराग गोयलले नयाँ टिमले संस्थालाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्ने विश्वास जनाए । स्टार्ट–अप र युवा उद्यमीहरुलाई प्रोत्साहनको खाँचो रहेको जनाउँदै नवनिर्वाचित अध्यक्ष अग्रवालले देशमै केही गर्ने चाहना भएका युवाहरुलाई प्रोत्साहन गर्ने खालका गतिविधि गर्ने बताए । व्यवसाय क्षेत्रमा सन् २०१३ देखि आवद्ध अग्रवाल टौरस फर्माका निर्देशक हुन् ।