शनिबार, आश्विन १७ गते २०८३

पर्यटन क्षेत्रको विकासमा काम गर्ने मन्त्री पाण्डेको प्रतिवद्धता


भाद्र २, २०८१ आइतबार
पर्यटन क्षेत्रको विकासमा काम गर्ने मन्त्री पाण्डेको प्रतिवद्धता


नेपाल उद्योग परिसंघ अन्तर्गतको पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसँग छलफल गरेको छ । आज मन्त्री पाण्डेसँगको भेटमा समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याईनुपर्नेमा जोड दियो ।

त्यसैगरी हवाई दुर्घटना न्यूनीकरण, दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालन समय सम्बन्धमा पनि सुझाव दिएको छ । परिसंघका उपाध्यक्ष राज बहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागी नयाँ नीतिहरू ल्याउन जरुरी रहेको बताए । पर्यटन क्षेत्रका समस्या बारे जानकारी गराउँदै समाधानका उपाय उनले सुझाए । 

छलफलमा समिति सदस्य रवीचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गरे । पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म संचालन हुने भनिएको समयावधि बढाएर राती १२ बजेसम्म गर्न आग्रह गरे । 

सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको तर नेपालको हवाई टिकटको मुल्य धेरै भएकोले लक्ष्य अनुरुप पर्यटकहरु भित्र्याउन गाह्रो हुने बताए । हवाई टिकटमा लगाईएको मुल्य अभिबृद्धि करलाई पुनरावलोकन गर्न जरुरी रहेको उनले जनाए । 

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागी कामको प्राथमिकता हेरेर अगाडि बढ्ने २०८३ भदौ सम्ममा पोखरा र भैरहवा एयरपोर्टको समस्या समाधान हुने गरी काम गरिरहेको जनाए । पर्यटन ऐन तयारी अवस्थामा रहेकाले चाडै आउने समेत जानकारी गराउँदै मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई सबल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिँदै अगाडि बढ्ने उल्लखे गरे ।