नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागद्वारा जारी विवरणका अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ ।
त्यसैगरी आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेकोछ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु. ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो।
कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन गत आर्थिक १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु. ५० खर्ब ७४ अर्ब पुगेको छ ।
नेपालपत्र संवाददाता