आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबारको शुरू भएको छ। आइएमई लिमिटेडले जीएमई रेमिटलाई प्राप्ति गरेको हो । प्राप्तिपछिको एकीकृत कारोबारको शुभारम्भ बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गरे । आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेपछि आइएमई लिमिटेडको नामबाट कारोबार भएको हो ।
कारोबार रकमका आधारमा आईएमई पहिलो र जीएमई तेस्रो ठूला कम्पनी हुन् । मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुनेछ । मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ हुने छ । हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ छ ।
विप्रेषण भित्र्याउने कम्पनीको रूपमा सन् २००१ मा स्थापित आइएमईले निकट भविष्यमै आइपीओ ल्याउने भएको छ। आइएमई र जीएमई रेमिट कम्पनीको मजर्र कार्यक्रममा बोल्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले छिट्टै पब्लिक अफर लिएर आउने जनाए ।
एक करोड चुक्ता पुँजीको आइएमईले अहिले एक अर्ब भन्दा बढीको कम्पनी भइसकेको अध्यक्ष ढकालले जनाए । मुलुकमा भित्रिने रेमिट्यान्सको आकार बढेको र डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भइसकेको भन्दै उनले रेमिट्यान्स कम्पनीको क्षेत्राधिकारका बारे पनि सोच्नुपर्ने बेला आइसकेको जनाए ।
आइएमईले ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको छ । रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरुगरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको छ ।
आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरु, केवलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरु सक्रिय छन् ।
नेपालपत्र संवाददाता