शनिबार, आश्विन १७ गते २०८३

भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने विषयमा सांसदहरूको आपत्ति


श्रावण २७, २०८१ आइतबार
भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने विषयमा सांसदहरूको आपत्ति

प्रतिनिधि सभा सदस्यहरूले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव गर्दै सांसदले हदम्याद राख्ने र नराख्नेमा आ–आफ्नो धारणा राखेका हुन्। 

प्रतिनिधि सभा सदस्यले भ्रष्टाचार गर्नेलाई उसको जीवनकालभर अनुसन्धान गर्न सकिने प्रावधान राख्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राखेर भ्रष्टाचारीलाई उम्काउने र संरक्षण गर्ने नीति राख्नु नहुने बताए। पाँच वर्षको हदम्याद स्वीकार्य नहुने भन्दै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न व्यक्तिहरुलाई उसको जीवन अवधिभरमा कारबाही गर्न सकिने व्यवस्था गर्नुपर्ने उनले जनाए । 

प्रतिनिधि सभा सदस्य सोबिता गौतमले भ्रष्टाचार गरिएको रकमको आधारमा सजायको वर्गीकरण गरिनुपर्ने बताइन् । उनले एक करोड रुपैयाँदेखि २० करोड रुपैयाँसम्म भ्रष्टाचार गर्नेलाई ८ देखि १० वर्षसम्म कैद गर्नुपर्ने उल्लेख गरिन् । त्यसैगरी २० देखि ५० करोड रुपैयाँ भ्रष्टाचार गर्नेलाई १० देखि १५ वर्ष, ५० करोडदेखि १ अर्ब रुपैयाँ भ्रष्टाचार गर्नेलाई १५ देखि २० वर्ष र १ अर्बभन्दा बढी भ्रष्टाचार गर्नेलाई २० वर्षदेखि कसुरदारको मृत्यु नहुञ्जेलसम्म कैद हुने प्रावधान राख्नुपर्ने उनको धारणा थियो । 

प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको नेपाल सरकारद्वारा प्रस्तुत विधेयकमा भएको कसुर र सजायमा थप गर्न आवश्यक नभएको धारणा राखे । कठोर सजाय राखेर भ्रष्टाचार निवारण नहुने भन्दै त्यसका लागि विविध प्रविधि अवलम्वन गर्नुपर्ने, कठोर सजाय दिइने व्यवस्था लोकतन्त्रको मर्यादाभित्र नपर्ने उनले जनाए । 

प्रतिनिधि सभा सदस्य नागिना यादवले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नुपर्ने बताइन् । अन्य प्रतिनिधि सभा सदस्यहरूले भ्रष्टाचारजन्य कसुरमा कुनै किसिमको हदम्याद तोक्नु नहुने राय समितिसमक्ष राखेका थिए ।