नेपालमा मंगलबार र बुधबार मनसुन प्रणाली थप सक्रिय हुने सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ । साउन २२ र २३ गते देशभर अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केहि प्रदेशमा अधिक वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाद्वारा जारी विशेष बुलेटिनमा भनिएको छ “कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ,”
मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुन्छ । सम्भावित जोखिमप्रति सतर्कतासँगै पूर्वतयारी अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
“मिति २०८१–०४–२२ गतेदेखि मिति २०८१–०४–२३ गतेसम्म भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,” बुलेटिनमा उल्लेख छ ।
नेपालपत्र संवाददाता