शनिबार, आश्विन १७ गते २०८३

वैदेशिक रोजगार बचतपत्रमा देखिएन आकर्षण, १५ अर्बको आव्हान, ७६ करोडमात्र विक्री


श्रावण १४, २०८१ सोमबार
वैदेशिक रोजगार बचतपत्रमा देखिएन आकर्षण, १५ अर्बको आव्हान, ७६ करोडमात्र विक्री

 

विप्रेषण आयलाई बैंकिङ्ग प्रणालीमा ल्याउनु र आन्तरिक ऋण परिचालनमा योगदान समेत दिन भन्दै जारी गरिएको वैदेशिक रोजगार बचतपत्रमा अपेक्षाकृत आकर्षण देखिएको छैन ।

पहिलो पटक आर्थिक वर्ष २०६६र६७ मा जारी भए सो बचतपत्र आकर्षक बनाउन उच्च ब्याजदर राखिएको छ र आवश्यकता अनुसार बिक्री गर्न वा धितो राखी कर्जा लिन सकिने भएपनि यसप्रति सरोकारवालाको चासो न्यून देखिएको छ । 

नेपाल राष्ट बैंक मौद्रिक व्यवस्थापन विभागले प्रकाशित गरेको अध्ययन प्रतिवेदनले त्यसयता हालसम्म २५ पटक गरी  १५ अर्ब ५६ करोड बचतपत्र आव्हान गरिएकोमा मात्र रु. ७६ करोड २३ लाख अर्थात ४.९ प्रतिशत मात्र बिक्री भएको छ। विगत १० वर्षमा कुल आन्तरिक ऋणमा यसको योगदान औसत ०.०६ प्रतिशत मात्र रहेको छ।

प्रतिवेदनले वचतपत्रमा आकर्षण बढाउन त्यसको अभौतिकीकरण, विदेशस्थित बैंक खाताबाट खरिद गर्न सकिने व्यवस्था, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलाई एकै प्रकारको बनाउने, र महत्वपूर्ण पूर्वाधार आयोजनाहरूका लागि वित्तीय साधन जुटाउन समेत बचतपत्र निष्काशन गर्ने सुझावहरू समावेश छन्।

अध्ययन सर्वेक्षणबाट प्राप्त तथ्यांक अनुसार, वैदेशिक रोजगारीमा रहेका ३० प्रतिशत पहिलो पटक जान लागेका र १२.५ प्रतिशतलाई मात्र बचतपत्रको बारेमा जानकारी रहेको पाइयो। जानकारी भए पनि खरिद नगर्ने मुख्य कारणहरूमा पर्याप्त जानकारी नभएको, झण्झटिलो खरिद प्रक्रिया, रकमको अभाव, र प्रमाणपत्र सजिलै प्राप्त नहुने लगायतका कारणहरू रहेका छन्। एजेण्टहरू र म्यानपावर कम्पनीहरूको सर्वेक्षणले पनि पर्याप्त जानकारी भए तापनि खरिदमा तत्परता नदेखाइएको बताएको छ।

अध्ययनले विभिन्न नीतिगत र प्रक्रियागत सुधार, साथै प्रचार–प्रसारमा जोड दिनुपर्ने आवश्यकता औल्याएको छ।