मौद्रिक नीति आएसँगै नेपाली धितोपत्र बजारमा उत्साह देखिएको छ । साताको पहिलो कारोबार दिन अाइतबार बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढेसँगै । यससँगै नेप्से परिसूचक पनि उच्च दरमा बढेको छ ।
नेप्से परिसूचक पनि १०० भन्दा बढी अंक बढेको छ। यस दिन नेप्से परिसूचक ११३.४२ अंक बढेर २६८१.५६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.८२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ८.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १०.०५ अंक बढेको छ। बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ९.८९ प्रतिशत बढेको छ। आइतबार १९ वाणिज्य बैंकहरुमध्ये १८ बैंकहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
मौद्रिक नीतिले वाणिज्य बैंकहरुको खराब कर्जा घटाउने उद्देश्यले असल कर्जामा १.१ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था गरेको थियो। त्यस्तै, क्यापिटल एडिक्वेसी फ्रेमवर्कमा संशोधनको घोषणा, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा साढे २ करोड बढाउनु, रेगुलेटरी रिजर्भको रकम टियर टु क्यापिटलमा गणना गर्न पाउनुजस्ता व्यवस्थाले बैंकहरुको नाफा बढाउने भएकोले लगानीकर्ताहरु वाणिज्य बैंकतर्फ आकर्षित देखिएका छन् ।
साताको पहिलो दिन नेप्सेमा दुई पटक सर्किट ब्रेक लागेको छ। बजारमा खुलेको साढे १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेपछि पहिलो सर्किट ब्रेक लागेर बजार २० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि खुलेको बजार १ मिनेट पनि नबित्दै ५ प्रतिशत बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो। त्यसपछि भने बजारमा सप्लाई केही बढेपछि तेस्रो सर्किट ब्रेक भने लाग्न पाएन ।
यस दिन कारोबारको रकम समेत बढेको छ। ३१८ स्टकको १ लाख ६३ हजार ८१० पटकको कारोबारमा १५ अर्ब ८१ करोड ५ लाख रुपैयाँ बराबरको ४ करोड ३ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआईसी एशिया बैंकको करिब ३५ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्स र शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड नाघेको छ।
नेपालपत्र संवाददाता