बुधबार, भाद्र ३ गते २०८३

मेरो शून्यको यात्रा

श्रावण १०, २०८१ बिहीबार
मेरो शून्यको यात्रा

 

यो जगत ठूलो शून्य हो 
जीवन यसका गहना हुन् 
जो यस जगतलाई सिंगार्छन् 
अनि विलीन हुन्छन् अनन्तमा 
सृष्टिको गर्तमा 
यही सृष्टिको इतिहास हो I 

प्रकृति सृष्टिको स्वभाव हो 
नियम हो अविच्छिन्न अनादि 
जगत भने सृष्टिको आदि,
जो स्वयम् पनि शून्यको धूल हो 
अनि शून्य सृष्टिको मूल हो I 

तिम्रा मुट्ठीभर सास शून्य
सास अडिने बास पनि शून्य 
शून्यता खालीपन हो 
गर्भाशयको खोखलोपन 
तर सृष्टिको जेलिएको नियम I 

यसै खालीपन भित्र जो छ, अवस्थित छ 
जन्म छ, जीवन छ अनि मृत्यू निश्चित छ 
सबै यसै शून्यबाट उदाउँछन् 
अनि खाली हुन्छन् र यै विशाल शून्यमैं हराउछन् 
अन्त्यमा अनन्तमा शून्यानंतमा I 

म विचार शून्यावास्थामा छु I 
म शून्यको संज्ञान गर्दै शून्यमैं हराउँदैछुँ  
माथिबाट शून्याकास हेर्दोछ अनन्तकालदेखि, 
म पनि माथि हेर्दैछुँ 
मेरो अनन्त यात्राको अभिलाषा बोकेर I 

 

(कविको प्रकाशित हुँदै गरेको पुस्तक ‘शून्यको यात्रा र अन्य कविताहरू’ बाट)I