भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकले १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्षमा व्यापार घाटा ०.९६ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा नेपालले १४ खर्ब ५४ अर्ब ५९ करोड व्यापार घाटा व्यहोरेको थियो ।
आर्थिक वर्ष २०८०र८१ को असार मसान्तसम्म नेपालले १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी अघिल्लो आवको सोही अवधिमा १७ खर्ब ६८ अर्ब ८७ करोड २७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । यस अवधिमा आयात र निर्यात दुवै घटेको छ । असार मसान्तसम्म आयात १.१६ प्रतिशत र निर्यात ३.०३ प्रतिशतले घटेको हो । गत असार मसान्तसम्म १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस अवधिमा एक खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।
नेपालपत्र संवाददाता