प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकारले तीव्र आर्थिक क्रियाकलापलाई प्राथमिकता दिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले अर्थतन्त्र डामाडोल अवस्थामा रहेको र आर्थिक गतिविधिलाई बढाएर सबल अर्थतन्त्र निर्माण गर्न सरकार लाग्ने बताए । उनले भने,‘आयात र निर्यात घटेको छ । मुस्किलले ७६ प्रतिशत मात्र राजश्व उठेको छ । यसले देशको अर्थतन्त्रमा कति ठूलो समस्या सिर्जना भएको छ भन्ने देखाउछ ।’
बैंकहरुमा पैसा थुप्रिएको र ब्याजदर न्यून रहेको अवस्थामा पनि लगानी गर्न व्यवसायीहरु तयार नभएको उनले बताए । ‘सरकार स्टन्टबाज भयो, सरकार थुन्ने अनि सुन्ने भयो भन्ने गुनासो बोकेर धाउँदैधाउँदै काम गर्न पाएनन्’ उनले भने । विकास निर्माण लथालिंग भएको र भ्रष्टाचारले सीमा नाघेको उनले बताए ।
निराशा हटाउन, आशाको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक दिशामा लैजान उनको भनाई छ । हरेक कुरा विदेशबाट आयात हुने गरेको भन्दै ओलीले स्थानीय स्रोत साधनको परिचालन गरी उद्योग स्थापना गरिने बताए ।
नेपालपत्र संवाददाता