काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफु यसअघि नै प्रधानमन्त्री बनिसकेकाले प्रधानमन्त्री बन्नका लागि मात्रै नआएको जनाए । अर्थतन्त्रलाई सुदृढ पार्ने प्रतिवद्धता व्यक्त गर्दैै निजी क्षेत्रलाई यो सरकारप्रति आशा भरोसा हुनैपर्ने समेत उनले जताए ।
“मुलुकको प्रधानमन्त्री बन्नको लागि मात्र म आएको होइन । समस्या देखेर, समस्याको समाधान गर्न, परिवर्तन ल्याउनुपर्छ, काम गर्नैपर्छ भनेर आएको हुँ” उनले भन्नुभयो, “त्यसैले तपाईहरुको आशा भरोसा हामीमाथि हुनैपर्छ ।”
कुनै पनि करका विषय अनुहार हेरेर हेरफेर गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीले गलत नीति लिएको बेला निजी क्षेत्रले समेत त्यसको विरोध गर्न सक्नुपर्ने उल्लेख गरे । अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिनुहुँदै मौद्रिक नीति कठोर हुन नहुने उनले बताए ।
प्रधानमन्त्री ओलीलाई परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिँदै अध्यक्ष राजेश कुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकार चुक्न नहुने बतए । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भएपनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको दृष्टान्त दिँदै उनले निजी क्षेत्रको मनोबल बढाउन सरकारको भूमिका हुने बताए । विगतका संकुचनकारी मौद्रिक नीतिका कारण समग्र बजार मागमा संकुचन आएको र अर्थतन्त्र शिथिल बन्न पुगेको अध्यक्ष अग्रवालको भनाई थियो ।

नेपालपत्र संवाददाता