काठमाण्डौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व काम गर्न दुइै ठूला दल मिलेर सरकार बनाएको भन्दै निजी क्षेत्रलाई आशावादी हुन भनेका छन् ।
अर्थमन्त्री पौडेल र नेपाल उद्योग परिसंघका प्रतिनिधिबीच भएको छलफलमा उनले भने“ “प्रधानमन्त्री चौथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टास्न आउनुभएको होइन । समस्या देखेरै त्यो समाधानका लागि यो सरकार आएको हो । अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ ।” नीतिगत तथा र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसैमा केन्द्रित भई सरकारले काम गर्ने भन्दै उनले समस्या मात्र नभई समाधानका लागि निजी क्षेत्रसँग सँगै बसेर छलफललाई केन्द्रित गर्ने समेत बताए ।
परिसंघ प्रतिनिधिमण्डलले बिहीबार नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना व्यक्त गर्दै सीएनआईले आर्थिक अवस्था र सुधारका विषयमा आफ्ना सुझाव दिएको हो ।
परिसंघको तर्फबाट अध्यक्ष राजेश कुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिए । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भएपनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको उनले बताए ।
विगत तीन वर्षदेखि उद्योगहरु ३०÷४० प्रतिशत क्षमतामा संचालन भईरहेको र समग्र बजार मागमा संकुचन आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको र विगतका संकुचनकारी मौद्रिक नीतिले अर्थतन्त्र विस्तार हुन नसकेको उनले जनाए । चालुपूँजी कर्जा मार्गदर्शन र पूँजीको वर्गीकरण मार्गदर्शनका कारण उत्पादनशील क्षेत्र र निर्माण क्षेत्र बढी प्रभावित भएकाले यी दुई मार्गदर्शन खारेज हुनुपर्नेमा उनको मुख्य जोड थियो ।
परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पूँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ।
नेपालपत्र संवाददाता