आज बिश्वका महान् रंगभेद बिरोधी, उपनिवेशवाद बिरोधी नेता नेल्सन मण्डेलाको १०६औं जन्म दिन हो । नश्लभेद, रंगभेद र जातिभेद बिरोधी संघर्षमा उनले पु¥याएको अतुलनीय योगदान नै उनलाई बिश्वले सम्झने र सम्मान गर्ने सबैभन्दा महत्वपूर्ण कारण हो । त्यसका लागि उनले अल्पसंख्यक गोराहरुको क्रूर दमनकारी र बिभेदकारी शासन सत्ताको बिरुद्ध संघर्ष गर्दा अबिच्छिन्नरुपमा २७ बर्षको कठोर काराबास जीवन बिताउनु परेको थियो । वास्तवमा नेल्सन मण्डेलाको यही दृढ निश्चयी र प्रेरणास्पद संघर्षमय जीवनगाथाले गर्दा नै आज पनि बिश्वमा उनी स्मरणीय र आदरणीय छन् ।
यसका अतिरिक्त रंगभेद र जातिभेदबाट अफ्रिकालाई मुक्त गराउने ती महान ब्यक्तित्वले चाहेको भए आजीवन दक्षिण अफ्रिकाको शासन सत्तामा जमेर बस्न सक्ने एक लोकप्रिय नेता थिए । तर उनले त्यसबाट फाइदा उठाउने सत्तामोह बिल्कुलै देखाएनन् । दक्षिण अफ्रिकाको इतिहासमा काला जातिको पहिलो राष्ट्रपति निर्वाचित भएको एक कार्यकालपछि नै उनी सत्ता केन्द्रबाट बाहिरिए र त्यसपछि सक्रिय राजनीतिमा आफुलाई अगाडि सारेनन् । उमेरका कारणले समेत उनी पछि सरेर नया पुस्तालाई सहज किसिमले सत्ता हस्तान्तरण गरे । जुन आजको सत्तामुखी बिश्व राजनीतिमा अत्यन्तै सराहनीय र प्रसंशनीय मात्रै होइन अत्यन्तै प्रेरणास्पद, अनुकरणीय दुर्लभ कार्य पनि हो ।
अझ अर्को तेश्रो महत्वपूर्ण कुरा उनले सत्ता परिवर्तन पछि बद्लाको भावनाले कुनै काम गरेनन् र त्यस्ता कुनै कदमहरु बिल्कुलै चालेनन् । उनको भनाइ एकदमै स्पष्ट थियो कि रंगभेद तथा जातिभेद बिरोधी उनको संघर्ष केवल काला जातिका लागि बिजयको कुरा मात्र थिएन, जातिभेदको अन्त्यका लागि त्यो गोरा अल्पसंख्यक जातिका लागि पनि थियो र हो । उनले लडेको लडाई कुनै जाति बिशेषको मुक्तिको लागि मात्र थिएन मानब जाति बीच फैलिएको फैलाइएको अभ्यस्त जस्तै तुल्याइएको बिभेद, असमानता र जातिय उत्पीडन तथा असुरक्षाका बिरुद्ध थियो । त्यसैले त्यो सबै जातिको समान हक अधिकार, समुन्नति र सम्मानका निमित्त थियो र हो भन्ने कुरा उनले एकदमै स्पष्ट पारेका थिए ।

हुन पनि नेल्सन मण्डेलाले मार्क्सबादप्रति आफ्नो बिमति नरहेको र त्यो प्रेरणाको श्रोत भएको करा स्वीकारेका थिए नै । अनि अन्तत कम्युनिष्ट बनेर उनी संघर्षलाई सही दिशा र अग्रगति दिन तत्पर भएको हन् भन्ने कुरा स्वयं उनले स्वीकारेको र कसैले बिमति जनाएको छैन र थिएन। यसरी बिसौं शताब्दीको उत्तरार्ध्ददेखिकाे जातिभेद र रंगभेद बिरोधी संघर्षमा दृढ निश्चयकासाथ दाया बायाँ नगरी लागेका नेल्सन मण्डेलाले स्वाधीनता र स्वतन्त्रतताको त्यो लडाईको सफल नेतृत्व गरेर बिजय हासिल गरे । उनको त्यो बिजय केवल दक्षिण अफ्रिकाको मात्र बिजय थिएन । त्यसै कारणले समेत बिश्वभरीका सरकार र राष्ट्र प्रमुख या तिनका प्रतिनिधिहरु नेल्सन मण्डेलाको ६ डिसेम्बर २०१३ मा देहाबसान हुँदा उनलाई अन्तिम श्रद्धाञ्जली दिन दक्षिण अफ्रिका पुगेका थिए र भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्न त्यस श्रद्धाञ्जली सभामा प्रत्यक्ष सहभागी बनेका थिए ।
तर आज दक्षिण अफ्रिकामा दिबंगत मण्डेला जस्तो अर्को कुनै ब्यक्तित्वको निर्माण भएको छैन । यद्यपि दक्षिण अफ्रिका बिश्वको बिकासशील अर्थतन्त्रमा अगाडि बढेको राष्ट्रको रुपमा खडा ‘ब्रिक्स’(ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको बिश्व आर्थिक संगठन)मा पनि आवद्ध र सक्रिय छ । तर अझै पनि गरीबी, अभाव, बेरोजगारी, अहिलेकाे बिश्व महामारी काेराेना र पहिलेदेखिकै एड्स जस्ता भयावह समस्याले त्यो देश निक्कै आक्रान्त छ । भ्रष्टाचार दक्षिण अफ्रिकाको पनि एउटा ठूलो समस्याकै रुपमा रहेको छ । यी समस्याहरुबाट मुक्त हुने दिशा र बाटोमा तीब्र गतिमा अगाडि बढ्न नसकेसम्म दक्षिण अफ्रिकाले नेल्सन मण्डेलाप्रति सार्थक सम्मान प्रकट गरेको र उनीबाट उचित प्रेरणा लिएको पनि ठहरिने छैन ।
अनि अग्रगामी राजनीतिक सुधार र परिवर्तन पछि पनि नेपाल लगायतका बिश्वका बिभिन्न देशहरुमा जुन किसिमको घोर सत्ता लिप्सा, सिद्धान्तहीन, अपारदर्शी र अपबित्र राजनीतिक साँठगाठ हुने गरेको र तुष्टीकरणको निहीत स्वार्थी राजनीति चल्ने चलाइने गरेको छ त्यसबाट बाहिर निस्कन नसकेसम्म नेल्सन मण्डेलाप्रति दर्शाएको आदर सम्मान र शब्द श्रद्धा केवल एउटा सस्तो पाखण्ड प्रदर्शन मात्र ठहरिने कुरालाई पनि आत्मसात गरिनै पर्दछ । अनि मात्र मण्डेला जस्ता साहसी, क्रान्तिकारी, दृढ निश्चयी र उच्च ब्यक्तित्वहरुको प्रसंशा गरेको, गुणगान गाएको र सम्मानको गरेको पनि सार्थकता हुन्छ । अन्यथा यो आफुलाई र अरुलाई पनि ठगठाग गर्ने कर्मकाण्डीय कुरा बाहेक कीमार्थ अरु केही प्रमाणित हुदैन । सदा सर्बदा स्मरणीय र अबिस्मरणीय बिश्व ब्यक्तित्व नेल्सन मण्डेलाको १०६औ जन्म जयन्तिका अवसरमा उनीप्रति उच्च सम्मानकासाथ हार्दिक एवं शतत नमन !