शनिबार, कार्तिक ८ गते २०८३

फेरी घट्यो बैंकको ब्याज

आषाढ ३१, २०८१ सोमबार
फेरी घट्यो बैंकको ब्याज

वाणिज्य बैंकहरुले  निक्षेपमा दिने ब्याजदर क्रमश घटाउँदै लगेका छन् ।  साउन महिनाका लागि  सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असार महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ ।  गत असार महिनाको तुलनामा १३ बैंकहरुले साउन महिनाका लागि ब्याजदर घटाएका छन् । त्यस्तै ५ बैंकले असार महिनाकै ब्याजदरलाई कायम गरेका छन् भने दुई बैंकहरुले ब्याजदर बढाएका छन् । 

साउन महिनाका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ६.७३ प्रतिशत रहेको छ । असारमा यस्तो ब्याजदर ६.८७ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.१३ बिन्दुले घटेको छ ।  त्यस्तै संस्थागतर्फ असार लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ५.४७ प्रतिशत विन्दुमा झरेको छ । असार यस्तो ब्याजदर ५.६७ प्रतिशत रहेको थियो । यस अवधिमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.१९२ प्रतिशत विन्दुले घटेको हो । 

साउन महिनाका लागि एभरेष्ट बैंक र कृषि विकास बैंकले ब्याजदर बढाएका छन् । एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.३ प्रतिशत र संस्थागत तर्फ ५.३ प्रतिशत ब्याज दिने भएको छ भने कृषि विकास बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.२९ प्रतिशत र संस्थागत तर्फ ४.१ प्रतिशत ब्याज दिने भएको छ ।  यता नबिल बैंक, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल एसबीआई बैंकले भने असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् । 

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता