गएको ११ महिनामा मुलुकको आयात, निर्यात र व्यापार घाटा सबैमा कमी आएको छ। चालु आर्थिक वर्ष २०८०–८१ को एघार महिनामा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई रु. १ खर्ब ३९ अर्ब २६ करोड कायम भएको हाे । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, अन्य मुलुकतर्फको निर्यातमा १.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, ब्रान्स, चिया लगायतका वस्तुको निर्यात घटेको छ ।
त्यसैगरी एघार महिनाकाे अवधिमा वस्तु आयातमा १.८ प्रतिशतले कमी आएको छ । त्यस अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोडकाे वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ प्रतिशतले कमी आएको थियो ।
वस्तु आयात गरिने मुलुकमध्ये भारतबाट भएको आयात ३.१ प्रतिशतले घटेकोमा चीनबाट भएको आयात ३४.८ प्रतिशतले
बढेको छ र अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर
पार्टपुर्जा, तयारी पोशाक, विद्युत्तीय उपकरण, हवाइजहाजको स्पेयर पार्टपुर्जा, लत्ताकपडा लगायतका वस्तुको आयात
बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका
वस्तुको आयात घटेको छ ।
साे अवधिमा कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले कमी आई रु. १३ खर्ब १४ अर्ब ४४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो ।
नेपालपत्र संवाददाता