गृह मन्त्री बालकृष्ण खाँणले नजिक आउँदै गरेका विजयादशमी, दीपावली र छठ जस्ता चाडपर्वमा सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
उपत्यकामा चाडपर्व लक्षित उपत्यकाको सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिँर्दै गृहमन्त्री खाणले नागरिकलाई अनुभूति देखिगरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।
‘अहिले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुपर्यो । नागरिकले महँगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन भएन,’ मन्त्री खाँणले भने, ‘अहिले जस्तो अवस्था छ, त्यस्तै अवस्था रहनुपर्यो र चाडपर्वमा परिवर्तन देखिनुपर्यो।’
बैठकमा उपत्यकाका काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंह, ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी किरण बज्राचार्य र भक्तपुर प्रहरी प्रमुख एसपी शिवकुमार श्रेष्ठले चाडपर्व लक्षित सुरक्षा योजना र बजार व्यवस्थापनबारे योजना प्रस्तुत गरेका थिए।