मधेश प्रदेशमा रहेका औद्योगिक प्रतिष्ठानले उत्पादन क्षमताको एकतिहाइ भन्दा कम मात्र वस्तु उत्पादन गरिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मधेशप्रदेशमा छनौट गरेका ३२ वटा उद्योगहरुको अध्ययन गर्दा चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा तिनले आफ्नो उत्पादन क्षमताको औसत २९ दशमलव ६० प्रतिशतमात्र क्षमता उपयोग गरिरहेको देखिएको हो । आ.व. २०७९/८० को सोही अवधिमा यी उद्योगहरुको औसत क्षमता उपयोग ३७ प्रतिशत रहेको थियो ।
त्यस अवधिमा सबैभन्दा बढी फलामको छड तथा पत्ति उद्योगको क्षमता उपयोग ८२.४४ गरेको देखिन्छ भने वनस्पति घिउ उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.०६ प्रतिशत रहेको देखिन्छ । वनस्पति घिउ उद्योगको क्षमता अति न्यून रहनुमा हालका दिनहरूमा वनस्पति घिउको गार्हस्थ्य तथा औद्योगिक प्रयोग कम हुँदै जानु र यसको विकल्पमा भटमासको तेल तथा पाल्म तेलको प्रयोग बढ्दै गएकाले यसको बजार माग घट्दै जाँदा उत्पादन पनि विस्तारै घट्दै गएको अध्ययनले जनाएको छ ।
त्यसैगरी मदिरा उद्योगले ८१.९५ प्रतिशत, गहुँको पिठो उद्योगको ६८.५७ प्रतिशत, आल्मुनियम उत्पादन उद्योगको ६७.७५ प्रतिशत, साबुन उद्योगको ४५.३८ प्रतिशत, हल्का पेय पदार्थ उद्योगको २९.७२ प्रतिशत, भटमासको तेल उद्योगको क्षमता उपयोग २०.३१ प्रतिशत रहेको छ । अन्य उद्याेगहरूकाे क्षमता उपयाेग न्यून रहेकाे छ ।
उद्योगमा प्रवाहित कर्जा घट्यो
बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा १.१२ प्रतिशतले घट्न गई रु.१ खर्ब १२ अर्ब ७५ करोड रहन गएकोछ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तोकर्जा रु.१ खर्ब १४ अर्ब २ करोड रहेको थियो । सो अवधिमा मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा ६६.४६ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा २.५२ प्रतिशत रहेको छ ।
मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा रु.१ खर्ब १२ अर्ब ७५ करोड मध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५९.१५ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ २८.८९ प्रतिशत, निर्माण उद्योगतर्फ ५.८० प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादनतर्फ ४.४८ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ ०.४८ प्रतिशत र खानी उद्योगतर्फ १.१७ प्रतिशत कर्जा प्रवाह भएको छ ।
नेपालपत्र संवाददाता