२०८१ साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लिन अनिवार्य गरिएपछि अहिले विभिन्न पालिकाहरूमा घुइँचो बढेकाे छ। परिचयपत्र लिनका लागि चाप बढेको तर पालिकाहरूले समयमै उपलब्ध गराउन नसक्ने देखिएको छ । खासगरी काठमाण्डौ उपत्यकामा स्रोत र साधनको सीमितताका कारण सबैलाई समयमै परिचयपत्र दिन नसकिने अवस्था विद्यमान छ।
यसैबीच नेकपा ९एमाले०ले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि सार्न गृहमन्त्रीलाई आग्रह गरेको छ। बुधवार काठमाण्डौका एमालेका नेताहरूले गृहमन्त्री रवि लामिछानेलाई भेटेर काठमाडौँमा परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि सार्न अनुरोध गरे।
उनीहरूले काठमाडौँका पालिकाहरूमा स्रोत र साधनको कमीका कारण सबैलाई समयमै परिचयपत्र दिन नसकिने भन्दै पुनःविचार गर्न आग्रह गरे। उनले परिचयपत्र नपाउँदा वृद्ध भत्ता लिन समस्या हुने जनाए ।
गृहमन्त्रीले यसबारे सकारात्मक प्रतिक्रिया दिँदै समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाए। सरकारले सार्वजनिक सेवा र सामाजिक सुरक्षा भत्ता लिन साउन १ गतेदेखि २८ जिल्लामा सो परिचयपत्र अनिवार्य गर्ने मिति तोकेको छ।
नेपालपत्र संवाददाता