शनिबार, आश्विन १७ गते २०८३

दैनिक उपभोग्य बस्तुको गुणस्तरसँग सम्झौता हुनुहुँदैन : नेपाली कांग्रेस


आषाढ १२, २०८१ बुधबार
दैनिक उपभोग्य बस्तुको गुणस्तरसँग सम्झौता हुनुहुँदैन : नेपाली कांग्रेस

नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने वस्तुको गुणस्तरमा कुनै सम्झौता नहुने निष्कर्ष निकालेको छ। विभाग गठन भएपछि पहिलो पटक सानेपामा भएको छलफलमा उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरूसँग यसबारे छलफल गरिएको थियो। विभाग प्रमुख गुरु बरालले उपभोक्ताको स्वास्थ्य र उपभोग्य वस्तुको गुणस्तरमा कांग्रेसको स्पष्ट नीति आवश्यक रहेको बताए।

खाद्य सामग्रीहरूको गुणस्तर र मापदण्डका बारेमा कांग्रेसले नागरिकको हितलाई ध्यानमा राखेर नीति बनाउनु पर्ने, र संसद्मा गैर सरकारी विधेयक दर्ता गराउनु पर्नेमा जोड दिइयो। बरालले दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्य वृद्धिले उपभोक्ताको भान्सा महँगो भएको र कांग्रेसले उपभोक्ताको अधिकार संरक्षणमा ध्यान दिनु आवश्यक रहेको बताए।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विभागले पहिलो पटक सुझाव सङ्कलन गरेको जानकारी दिँदै आगामी दिनमा नीति निर्माणलाई प्रभावकारी बनाउनुपर्ने बताए। नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले बजारमा पाइने खाद्य पदार्थको कम गुणस्तरीयता र अस्वस्थकरतामा काँग्रेसले आवाज उठाउनुपर्ने धारणा राखे।

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक उमेशकुमार थानीले वितरण प्रणालीमा बेलाबेलामा समस्या आउने गरेको र आयल निगमको एउटा पनि ट्याङ्कर नहुँदा उपभोक्ताहरू मारमा पर्ने बताए। दुग्ध विकास संस्थान (डिडिसी) काठमाडौँ आयोजनाका वितरण प्रमुख गणेशकुमार यादवले कमिसन र माफियातन्त्रले डिडिसीलाई समस्यामा पारिरहेको बताए।

नेपाली कांग्रेस पार्टी सरकारमा रहँदा वा नहुँदा सकारात्मक भूमिका निर्वाह गर्ने बताउँदै विभाग प्रमुख बरालले विभिन्न क्षेत्रगत रूपमा छलफल गर्ने योजना रहेको जानकारी दिए।