शनिबार, आश्विन १७ गते २०८३

प्रचुर सम्भावना रहेको कर्णाली प्रदेशमा पर्यटनको विस्तार न्यून


आषाढ ११, २०८१ मंगलबार
प्रचुर सम्भावना रहेको कर्णाली प्रदेशमा पर्यटनको विस्तार न्यून

 

पर्यटनको प्रचुर सम्भावना रहेको भएपनि कर्णाली प्रदेशमा यस क्षेत्रमा न्यून वृद्धि देखिएको छ । उचित प्रचारप्रसारको अभाव रहनुका साथै पर्यटकीय पूर्वाधारहरुको विकास हुन नसक्दा पर्यटन क्षेत्रमा अपेक्षित सुधार आउन सकेको देखिँदैन ।

नेपाल राष्ट्र बैंकले गरेको कर्णाली प्रदेशको २०८०।८१ को अर्धवार्षिक प्रादेशिक आर्थिक गतिविधि अध्ययनले उक्त प्रदेशमा समीक्षा अवधिमा यस प्रदेशमा समग्रमा पर्यटन आगमन संख्या गत अवधिको तुलनामा १८.६७ प्रतिशतले वृद्धि भएको देखिन्छ । यद्यपि होटल शैयासंख्यामा ४.१३ प्रतिशत मात्र रहेको छ । अघिल्लो वर्ष भने त्यस्तो संख्या १.१७ प्रतिशतले घटेको थियो । 

सन् २०२३ मा नेपालमा आउने पर्यटकको संख्या ६५ प्रतिशतभन्दा माथि वृद्धि भएर १० लाख १४ हजारभन्दा बढी रहेता पनि कर्णाली प्रदेशमा पर्यटनको विस्तार गति सुस्त रहेको देखिन्छ । 

६ महिनाको अवधिमा कर्णाली प्रदेशमा होटल व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा २.११ प्रतिशतले वृद्घि भएको देखिन्छ । गत अवधिमा सो व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा १३.१० प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो अवधिमा १२.४६ प्रतिशतले वृद्धि भएको भारतीय पर्यटक आगमनको संख्यामा समीक्षा अवधिमा २७.१८ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो सोही अवधिमा ९.४५ प्रतिशतले वृद्धि भएको चिनियाँ पर्यटक आगमनको संख्यामा समीक्षा अवधिमा ६.१४ प्रतिशतले ह्रास आएको छ ।

त्यसैगरी तेस्रो मुलुकबाट आउने पर्यटकहरुको संख्यामा १.०५ प्रतिशतले घटेको देखिन्छ जबकि अघिल्लो सोही अवधिमा यस्तो वृद्धिदर १६.३८ प्रतिशत रहेको थियो । सो अवधिमा यस प्रदेशमा औसत होटल अकुपेन्सी ३४.१० प्रतिशत रहेको छ भने विगतमा यस्तो प्रतिशत ३३ रहेको थियो ।